अक्षररेखा संवाददाता
बाँसगढी, २५ साउन
सामुदायिक वन दिवस–२०८३ का अवसरमा आज बाँसगढीमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नगर महाशाखा बाँसगढी बर्दियाको आयोजनामा सरोकारवालाहरूसँग अन्तक्र्रिया गरिएको हो ।
सो अवसरमा नगर प्रमुख खड्कबहादुर खड्काले सामुदायिक वन उपभोक्ता समितिहरूले वन संरक्षणका साथसाथै आयआर्जन र जीविकोपार्जनमा पनि जोड दिन आग्रह गरे । स्पष्ट योजनासहित आएमा वन उपभोक्ता समूहसँग सहकार्य गर्न नगरपालिका तयार रहेको उनको भनाइ थियो ।

त्यसैगरी, बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले उपभोक्ता समितिका प्रमुख समस्या समाधानका लागि स्थानीय सरकार सदैव तयार रहेको बताइन् । उनले दिवसका अवसरमा सम्पूर्ण उपभोक्ता समितिलगायत सरोकारवालाहरूलाई शुभकामना व्यक्त गर्दै आपसी छलफलका माध्यमले नै सम्पूर्ण समस्या समाधान गर्न सकिने विचार राखिन् ।
त्यसैगरी, फेकोफनका केन्द्रीय उपाध्यक्ष महमद करखाँले सामुदायिक वन उपभोक्ता समूहकै कारण विश्वमा नेपालको पहिचान बनेको बताए । फेकोफनकै अगुवाइमा नेपालमा समावेशीताको सुरुवात भएको दाबीसमेत गरे ।
नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फेकोफन लुम्बिनी प्रदेश सदस्य प्रेमप्रसाद शर्मा, जिल्ला सदस्य मनिराम आचार्यलगायतले आ–आफ्ना विचार राखेका थिए ।

फेकोफन नगर महांसघ बाँसगढीका अध्यक्ष मीना रिजालको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव टेकराज तिमिल्सिनाले गरेका थिए भने सदस्य तीर्थराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
अन्तक्र्रिया कार्यक्रममा अधिकांश सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूले वन कार्ययोजना दर्ता हुन नसक्दा अनेकौँ समस्या झेल्नुपरेको गुनासो गरेका थिए ।





