अक्षररेखा संवाददाता
बाँसगढी, ८ असोज
जिल्ला प्रशासन कार्यालय बर्दियाले केही समयका लागि लामो दूरीका सवारी साधन सञ्चालन नगर्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ । जिल्लास्थित यातायात व्यवसायीहरूलाई आज एक पत्रमार्फत असोज ९ गतेदेखि ११ गतेसम्म लामो दूरीका कुनै पनि सार्वजनिक सवारी साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले निर्देशन दिएको हो ।

जिल्ला सुरक्षा समिति बर्दियाको निर्णयबमोजिम यात्रुहरूलाई अग्रिम जानकारी गराई बर्दिया जिल्लाबाट लामो दूरीका सवारी साधन नछुट्ने व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाअनुसार नेपालमा अति भारी वर्षाका कारण ठाउँठाउँमा हावाहुरी, बाढीपहिरो, भू–क्षय, डुबान र हिमपातसमेत हुनसक्ने भएकाले सो अवधिमा लामो दूरीका सवारी साधान सञ्चालन नगर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालद्वारा हस्ताक्षरित पत्रमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसमसम्बन्धी विशेष बुलेटिन तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी सतर्कताका लागि अनुरोध पत्र र गृह मन्त्रालयको निर्देशनबमोजिम सो पत्राचार गरिएको जनाइएको छ ।

देशका विभिन्न स्थानमा भारी वर्षासहित मेघगर्जन, चट्याङ, हावाहुरी, बाढीपहिरो तथा भू–क्षयसमेत हुनसक्ने भएकाले सतर्कताका लागि निर्देशानुसार सो पत्र जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

सो अवधिमा आधिकारिक निकायबाट जारी सूचना तथा ट्राभल एड्भाइजरीअनुसार सुरक्षित रूपमा यात्रा गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय