अक्षररेखा संवाददाता
बाँसगढी, ८ असोज
बाँसगढी नगरपालिकाले जल तथा मौसम विज्ञान विभागको पूर्वसूचनाअनुसार भारी वर्षाको सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन बाँसगढीबासीलाई आग्रह गरेको छ । बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले आफ्नो फेसबुक पेजमार्फत बाँसगढीबासी अझ विशेषगरी नदी, खोलानाला किनारमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

बाँसगढी नगरपालिकाभित्र बबई नदी, मान खोला, रेउ खोला, डुडुवा खोलालगायत थुप्रै सानातिना खोलानाला पर्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले अझ विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । नदी खोलानालामा पानीको बहाव बढेका बेला नजिक नजान, खोलानाला तर्ने प्रयास नगर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्किन खड्काको आग्रह छ ।

सम्भावित हावाहुरीसहितको भारी वर्षाका कारण यहाँ आउनसक्ने विपत्का लागि पूर्वतयारी गरिएको पनि नगर प्रमुख खड्काले जानकारी दिए । ‘विपत्का बेला आवश्यक पर्ने सामान तयार छन् । विपत् व्यवस्थापन समिति, सुरक्षा निकाय, रेडक्रसलगायतका संस्थालाई अलर्ट रहन आग्रह गरेका छौँ,’ खड्काले भने, ‘साथै विभिन्न माध्यमबाट नगरबासीलाई सचेत पनि गराइरहेका छौँ ।’ यस्तो बेला उच्च सतर्कता अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुने भन्दै उनले नगरबासीलाई सतर्क रहन आग्रह गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय