अक्षररेखा संवाददाता
बर्दिया, २५ असोज
भदौ १० गते भोटेकोशीमा आएको प्रलयकारी बाढीले नेपालीका मनमनमा दिएको चोटमा खाटा बस्न नपाउँदै फेरि त्यस्तै संकेत दिने गरी आज बिहान बूढीगण्डकी नदीमा बाढी आएको छ । सुक्खा पहिरोका कारण नदी थुनिँदा आएको बाढीका कारण कैयौँ घर तथा भौतिक संरचनाहरू बगेका छन् ।
चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि आज बिहान करिब ५ बजेदेखि बूढीगण्डकी नदीमा बाढी आएको हो । बाढीले तल्लो तटीय केही गाउँमा घरहरू बगाएको छ भने केही गाउँहरूमा व्यापक क्षति पु¥याएको छ ।
चुमनुब्रीमा मात्रै १५ भन्दा बढी घर पूर्ण क्षति भएका छन् भने एक दर्जनभन्दा बढी घरमा सामान्य असर गरेको छ । घट्टेखोलामा रहेको विकास आधारभूत विद्यालयसहित ५ घर पूर्ण क्षति भएको छ । जगत बगरमा ९ घर पूर्ण क्षति भएको छ । सल्लेरीमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ भने सोही आयोजनाका लागि निर्माण गरिएको बेलिब्रिज पनि बगाएको छ । सोही ठाउँमा ४ वटा गाडी बाढीमा परेका छन् ।
धार्चे गाउँपालिकाको सदरमुकाम माछाखोलामा केही घरहरूमा क्षति पुगेको छ । दोभानमा रहेको बेलिब्रिज बगाएको छ भने केरौंजा जोड्ने झोलुंगे पुल पनि बाढीबाट क्षति भएको छ । आरुघाट गाउँपालिकामा पनि २ वटा मोटरेबल पुल बगाएको छ । आरुघाटमा रहेको गोरखा र धादिङ जोड्ने पुल र सोतीस्थित मान्बु जोड्ने पुल बाढीमा बगेका छन् ।
बाढीबाट कुनै मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ । बाढीको जोखिममा रहेका ६ जनाको नेपाली सेनाले हेलिकोप्टरद्वारा उद्धार गरेको छ ।
बाढीको जोखिमलाई ध्यानमा राखेर समयमै सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
नदीमा जल सतह घटे पनि बूढीगण्डकी नदी तटीय क्षेत्र तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बेलुकीसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।







