अक्षररेखा संवाददाता
बाँसगढी, २९ असोज
नजिकिँदै गरेका नेपालीहरूका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाले सुरक्षा सक्रियता बढाएको छ । चाडबाडका बेला हुनसक्ने आपराधिक घटनाहरूलाई नियन्त्रण गर्न र जिल्लाभित्र सुरक्षा व्यवस्था कायम राख्न विशेष सक्रियता अपनाइएको जिप्रका बर्दियाले जनाएको छ ।
चाडबाडलाई नै लक्षित गरेर जिल्लाभित्र थप प्रहरी परिचालन गरिएको छ । यतिबेला जिल्लाभरि करिब ५ सय प्रहरी सुरक्षाका लागि परिचालित भएको जिप्रका बर्दियाका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए । सुरक्षाका लागि अन्य समयभन्दा बढी पैदल गस्ती, मोबाइल टोली तथा सूचनाका लागि विभिन्न टोली परिचालित भएको उनले बताए ।
त्यसैगरी, विभिन्न स्थानमा नियमितभन्दा बढी चेकप्वाइन्टहरू, हाइवे युनिटहरू र नागरिक सहायता कक्ष स्थापना गरिएका छन् । चाडबाडका बेला मानिसहरूको आवागमन बढी हुने हुँदा यात्रुहरूको सहजताका लागि जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको सूचना अधिकारी देउवाले जानकारी दिए । सदरमुकाम गुलरिया, भारतीय सीमानजिक सुरजपुर, सानोश्री, राजापुर, भुरीगाउँ, बाँसगढीमा ट्राफिक प्रहरीसहितका सहायता कक्ष स्थापना गरिएको छ ।
चाडबाडका बेला अत्यधिक मदिरा तथा लागूपदार्थ सेवन, सवारी दुर्घटना, झैझगडा, चोरी, लुटपाट, जुवातासजस्ता आपधारिक क्रियाकलाप बढ्न सक्ने भएकाले विशेष सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
विशेषगरी बर्दिया प्रहरीले यतिबेला विभिन्न धार्मिक स्थल तथा धार्मिक समूहहरूमाथि निगरानी बढाएको छ । चाडबाडका बेला हुने धार्मिक गतिविधिबाट समाजमा धार्मिक तथा सामाजिक सद्भाव नखल्बलियोस् भन्नका लागि धार्मिक समूहमाथि निगरानी बढाइएको जिप्रका बर्दियाले जनाएको छ ।
चाडबाडको उमङ्गमा अत्यधिक मदिरा तथा लागूपदार्थ सेवन नगर्न, रमाइलोका नाममा जुवातास नखेल्न, सुरक्षित रूपमा यात्रा गर्न र नागरिक स्वयम्ले पनि सुरक्षा सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।







