सनत सापकोटा
बाँसगढी, ३० असोज

२०८३ सालको बडादसैँ हाम्रा घर आँगनमा भित्रिइसकेको छ । असोज २५ गते घटस्थापनादेखि नै हिन्दुहरूको महान् चाड बडादर्सै विधिवत् रूपमा नेपालीका घरदैलोमा प्रवेश गरिसकेको हो । यस अवधिमा रोजगारी, पेसा, व्यवसायका सिलसिलामा देश–विदेशमा छरिएर रहेका नेपालीहरू दसैँ मान्न आफ्नो मूलघर फर्किने क्रम जारी छ । कतिपय त आ–आफ्ना घर पुगेर परिवार, आफन्त र साथीभाइहरूसँग रमिरहेका छन् भने अन्य कतिपय आफ्नो पेसा, व्यवसायबाट केही समयका लागि निवृत्त भएर आफ्ना परिवार र आफन्तसँग रमाउन आतुर देखिन्छन् ।

यतिबेला कसैलाई यात्राको चटारो छ । कोही किनमेलमा व्यस्त छन् । कोही घरको सरसफाइमा लागेका छन् । चोकचोकमा दुर्गामूर्ति स्थापना गरेर पूजा आराधना चलिरहेको छ । कतै पिङ हाल्ने हतारो भइरहेको होला । कोही साथीभाइहरूसँग बसेर आफ्ना पुराना दिनहरू सम्झिँदै होलान् ।

जागिरेहरू अफिस बिदा हुने दिन कुरेर बसिररहेका छन् । व्यापारीहरू चाडबाडका बेला हुने थप व्यापारका लागि खटिरहेका छन् । केही समयअघि मलुकमा आएको राष्ट्रिय विपत्ति, ठूलो वर्षालगायतका कारण यसपालि विगतका वर्षहरूमा जस्तो नागरिकमा खासै चाडबाडकोे उत्साह नदेखिए पनि चाडबाडका कारण यतिबेला हाम्रा सहरबजारहरू केही चलायमान भएका छन् । भनौँ, कुनै न कुनै रूपले हरेक नेपालीलाई दसैँको रन्कोले छोपिसकेको छ ।

दसैँको यो बिदालाई सबैले आ–आफ्नै तरिकाले उपयोग गर्छन् । कतिपयले यो बिदालाई कसरी सदुपयोग गर्ने भनेर योजना बनाइसकेका होलान् भने कतिपय योजना बनाउने तरखरमा होलान् । यो उत्सवमय फुर्सदिलो समयलाई नेपालीहरूले आ–आफ्नो रुचि र गच्छेअनुसार मनाउने गरेका छन् ।

कसैलाई यो समय नयाँ–नयाँ पुस्तक पढेर बिताउने योजना होला । कतिपयले यो बिदामा नयाँ ठाउँ घुम्न जाने योजना बनाएका होलान् । कतिपयलाई आफ्ना आफन्त, इष्टमित्र र पुराना साथीभाइसँग बसेर रमाइलो गर्ने मन होला । जे होस् यो सुखद् समयलाई सबैले सुखद् रूपमै व्यतीत गर्ने तयारी भने गरेका हुन्छन् ।

टीकाको दिन आफ्ना मान्यजनहरूसँग टीका ग्रहण गरेर आशिर्वाद लिने–दिने, परिवार र आफन्तसँग बसेर रमाइलो गर्ने त छँदै छ । यसका अलावा अन्य फुर्सदको समय बाँसगढीका चर्चित व्यापारीहरू यसपटकको दसैँको फुर्सदिलो समय कसरी बिताउने योजनामा छन् त ?

बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष तथा अन्नपूर्ण ट्रेडर्सका सञ्चालक बद्रीनाथ बराल दसैँको यो फुर्सदिलो समयलाई बच्चाबच्चीसँग सामान्य घुमिफर गरेर र पुस्तक अध्ययन गरेर बिताउने सुरमा छन् । ‘यही बिदामा पढ्न भनेर मैले नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालको आत्मकथाको पुस्तक किनेरसमेत ल्याइसकेको छु,’ बरालले भने, ‘पढ्न भ्याएको थिइनँ, दसैँमा यो किताब पढेर सिध्याउँछु ।’

त्यसैगरी, बाँसगढीकी युवा व्यवसायी तथा धौलागिरी हार्डवेयर एन्ड सप्लायर्सकी सञ्चालक दिलु पौडेल ज्ञवाली यसपटकको दसैँ स्याङ्जामा रहेको आफ्नो पुख्र्यौली गाउँमा बृहत् परिवारका साथ मनाउने तयारीमा छिन् । आफन्त भेटघाट, धार्मिक अनुष्ठान र गाउँको प्रकृतिसँग साक्षात्कार गरेर दसैँ मनाउने उनले बताइन् ।

त्यसो त उनको परिवारले प्रत्येक दसैँ पुख्र्यौली गाउँमै मनाउँदै आएको छ । ‘हाम्रा ससुराका ६ भाइ हुनुहुन्छ । ६ भाइका सन्तान देशका विभिन्न ठाउँमा छरिएर रहेका छन्,’ दिलु भन्छिन्, ‘तर दसैँका बेला सबै जना पुख्र्यौली थलो स्याड्जामै जम्मा हुन्छौँ ।’ गाउँमा दसैँ मनाउनुको आनन्द नै बेग्लै हुने उनको भनाइ छ । गाउँको हावापानी, संस्कार, संस्कृति र परम्परा तथा लामो समयको भेटघाटपछि परिवारमा देखिने आत्मीयताले दिने अनुभूति नै बेग्लै हुने उनको तर्क छ । ‘केटाकेटीले पनि आफन्त चिन्न, आफ्नो परम्परा र संस्कार सिक्न र आफ्नो ढुंगामाटोमा खेल्न पाउँछन्,’ उनी भन्छिन्, ‘बजारमा भन्दा उनीहरू गाउँमै रमाउँछन् ।

उनको वृहत् परिवारले प्रत्येक दसैँलाई विगतका आफ्ना कामहरूको समीक्षा गर्ने र आगामी दिनका योजना बनाउने अवसरका रूपमा उपयोग गर्दै आएको दिलुले बताइन् ।
शुभकामना फर्मा, बाँसगढीका सञ्चालक सुरेश रेग्मीको योजना भने बेग्लै छ । उनी आफ्नी ९७ वर्षीय आमाको सेवा गरेर दसैँको समय बिताउन चाहन्छन् । आफ्नो पेसाकै कारण यो समयमा टाढाको घुमफिर गर्न नपाइने अवस्था सिर्जना हुने बताउँदै घरमै बसेर साथीभाइहरूसँग रमाइलो गरेर बिताउने उनको भनाइ छ । ‘चाडबाडका बेला सरकारी अस्पतालहरू बन्द हुन्छन् । यो बेला बिरामीको चाप झन् बढ्छ,’ उनी भन्छन्, ‘त्यसैले टाढा जान पाइँदैन । तर साथीभाइसँग नजिकका पहाडी भूभागको यात्रा गर्ने योजना भने छ ।’ उनी चाडबाडका बेला विशेषगरी खानपानमा ध्यान दिन पनि सर्वसाधारणसँग अनुरोध गछर्न् ।

त्यस्तै, बाँसगढीका उद्योगी व्यवसायी नरबहादुर वलीले भने यसपटकको दसैँमा आफ्नो टीका पनि नभएको र व्यावसायिक कामका सिलसिलामा दसैँलगत्तै भारतको नयाँ दिल्ली जानुपर्ने भएकाले कुनै योजना बनाइनहालेको बताए । ‘टीका नभएकाले दसैँमा परिवारसहित मुस्ताङतिर घुम्न जाउँ कि भन्ने थियो,’ वलीले भने, ‘तर दसैँलगत्तै दिल्ली जानुपर्ने भएकाले अझै कुनै योजना बनाएको छैन ।’

उद्योग बाणिज्य संघ बाँसगढीका संस्थापक अध्यक्षसमेत रहेका बाँसगढीका अर्का चर्चित व्यापारी पुष्प बराल यसपटकको दसैँको फुर्सदिलो समयलाई साथीभाइसँग रमाइलो गरेर र सामाजिक काममा सक्रिय भए बिताउने विचारमा छन् । ‘दसैँ बिदामा खास योजना त त्यस्तो केही छैन,’ बराल भन्छन्, ‘विगतमा जस्तै साथीभाइहरूसँग बसेर दसैँ मनाइन्छ ।’

विगतका वर्षहरूमा दसैँमा लामो सार्वजनिक बिदा हुने भएकाले मानिसहरू लामो दूरीको यात्राका योजनाहरू बनाउने गरेका भए पनि पछिल्ला वर्षहरूमा बिदा कटौती भएकाले नजिकका पर्यटकीय स्थलहरूको घुमफिर, मित्रमिलन र परिवारमा रमाइलो गरेर प्रायः दसैँ मनाउने गरेको पाइन्छ । अध्ययनमा रुचि भए पनि व्यावसायिक कामले व्यस्त रहनुपर्नेहरूले भने यो समयलाई मन परेका पुस्तक अध्ययन गरेर उपयोग गर्ने गरेका छन् ।

पछिल्लो समय नेपालमा केही विकृतिहरू पनि बढ्दै गएको पाइन्छ । कतिपय मानिसहरूले यो धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको चाडको अवसरलाई दुरुपयोग गर्दै जुवातास र अत्यधिक मादक पदार्थ सेवनसमेत गर्ने गरेको पाइन्छ, जसले हाम्रो संस्कृति, परम्परा र सामाजिक महत्वलाई अवमूल्यन गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय