अक्षररेखा संवाददाता
बाँसगढी, २७ असोज
पछिल्लो समय बाँसगढी नगरपालिकाको बाँसगढी बजारमा अवैध यौन गतिविधि बढेको पाइएको छ । यहाँस्थित केही होटलहरूले बाँसगढी बजारमा खुला रूपमा यौनधन्दा सञ्चालन गरिरहेको स्थानीयबासीको भनाइ छ ।

बजारका मुख्य चोकहरूमै खुला रूपमा यौनधन्दा चलिरहँदा पनि प्रहरी प्रशासनले भने अन्देखा गरिरहेको स्थानीयबासीले गुनासो गरेका छन् । चोकचौराहामै खुला रूपमा अवैध यौन गतिविधि भइरहँदा पनि प्रहरी प्रशासनले खबर नपाउनु र कारबाही नगर्नु आश्चर्यजनक विषय भएको एक स्थानीयबासीले बताए ।

‘हामीलाई त यहाँ बसिनसक्नुभएको छ, कहाँकहाँबाट मोटरसाइकलमा रातभरि जोडीका जोडी आउने जाने गर्छन्, खुलारूपमा यौनजन्य गतिविधि हुन्छन्,’ ती होटलनजिकै घर भएका एक स्थानीयबासीले भने, ‘यसबारे बजारभरि हल्ला फिँजिइसक्दा पनि प्रहरी प्रशासनले भने चाल नपाउनु र कारबाही नगर्नु आश्चर्यजनक छ ।’

२६ गते बेलुकी बाँसगढीको बुद्धचोकनजिक रहेको एक होटलमा प्रहरी पुग्दा प्रहरी पुग्नुअगावै होटलबाट अवैध क्रियाकलापमा संलग्न चार–पाँच जोडी भागेको पनि स्थानीयबासीले जानकारी दिए । तर प्रहरीले भने एउटा मोबाइल हराएको विषयमा आफूहरू त्यहाँ पुगेको र होटलमा त्यस्तो कुनै अवैध गतिविधि भइरहेको नपाइएको जनाएको छ ।

बाँसगढीका केही होटलहरूमा अवैध यौन गतिविधि हुने गरेको जानकारी आफूले पनि पाएको र पटकपटक त्यहाँ प्रहरी पुग्ने गरे पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक परशुराम चौधरीले बताए । ‘स्थानीयबासीमार्फत यो जानकारी हामीले पनि पाएका छौँ,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘तर पटक–पटक प्रहरी पुग्दा पनि पक्राउ गर्न सकिएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय