३ कार्तिक, बाँसगढी ।
बर्दियाको बाँसगढीमा सञ्चालन भएको बाँसगढी प्रिमियर लिग सिजन–३ आज सम्पन्न भएको छ ।
आज भएको फाईनल खेलमा बाँसगढी रोयल टाइगर्सलाई फराकिलो अन्तरले पराजित गर्दै बाँसगढी राइनोज सिजन–३ को विजेता बन्न सफल भएको छ ।
आज भएको खेलमा टस जित्दै ब्याटिङ रोजेको राइनोजले निर्धारित २० ओभरमा १६३ रनको विशाल योगफल तयार गर्यो।
राइनोजका सलाहुदिन खानले दमदार ब्याटिङ गर्दै ५७ रन बनाए भने उनलाई साथ दिँदै रोशन कसेराले २७ रनको योगदान गरे।
बलिङतर्फ रोयल टाइगर्सका लवकुश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। साथै, निर्मल गुरुङ र नवीन न्यौपानेले समान १-१ विकेट हात पारे। जवाफी रूपमा ब्याटिङ गर्न उत्रिएको रोयल टाइगर्सको टोली राइनोजको बलिङ अगाडि पूर्ण रूपमा धराशायी भयो। टाइगर्सले जम्मा ४० रनमै आफ्नो सम्पूर्ण विकेट गुमायो।

राइनोजका बलरहरूले शानदार प्रदर्शन गरे , सलाहुदिन खान र निशान्त आचार्यले समान ४–४ विकेट लिए भने कप्तान सिद्धान्त राज शाहीले २ विकेट झारे।
५७ रनको आक्रामक ब्याटिङ र ४ विकेटको चम्किलो प्रदर्शनका लागि सलाहुदिन खान ‘म्यान अफ द म्याच’ घोषित भए।

बिधागत पुरस्कारमा बेस्ट बलर माछागढ सुपर स्ट्राइकर्सका नितेश न्यौपाने,बेस्ट ब्याटर — बाँसगढी राइनोजका कप्तान सिद्धान्त राज शाही, म्यान अफ द टुर्नामेन्ट — सिद्धान्त राज शाही (राइनोज), इमर्जिङ प्लेयर — ककौरा सुपर किङ्सका करण बुढामगर भएका छन् । ‘

सिजन २ को प्रतियोगितामा उपविजेता बन्न सफल भएको बाँसगढी राइनोजले यस प्रतियोगिताभर एक खेल पनि नहारी आफ्नो विजयी यात्रालाई पूर्णता दिएको छ।
बाँसगढी क्रिकेट क्लबको आयोजनामा सञ्चालन भएको उक्त खेलको समापन कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का, नगर खेलकुद विकास समितिका संयोजक नैन बहादुर खत्री, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बराल लागयतको सहभागित रहेको थियो ।





