अक्षररेखा संवाददाता
बर्दिया, ९ कात्तिक
बाँसगढी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सञ्जुकुमार वली र उनकी धर्मपत्नी सिर्जना रिजालले आफ्नो आठ महिने छोरा दिवांशको जीवन रक्षाका लागि अपिल गरेका छन् । छोरा दिवांश गम्भीर आनुवंशिक रोगबाट पीडित भएको र सो रोगको उपचार निकै खर्चिलो भएकाले उनीहरूले सहयोगका लागि सम्पूर्णमा अपिल गरेका हुन् ।

सञ्जुले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत छोरा दिवांशले जन्मेको केही दिनदेखि नै स्वास्थ्य समस्या झेलिरहेको र हाल उनलाई जटिल स्वास्थ्य समस्या देखिएकाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको जनाएका छन् ।

पारिवारिक स्रोतका अनुसार दिवांशलाई फेमिलियल हेमोफेगोसाइटिक लिम्फोहिस्टिअक्टोसाइसिस (एचएलएच) टाइप ३ नामक दुर्लभ तथा ज्यान जोखिममा पार्न सक्ने आनुवंशिक रोग लागेको छ । यस रोगले शरीरको प्रतिरक्षा प्रणालीलाई असर गर्ने र पटक–पटक ज्वरो आउने तथा रगतमा पाइने डब्लूबीसी, प्लेटलेट्स, हेमोग्लोबिन कम हुँदै जाने तथा शरीरमा सम्पूर्ण रगतको मात्रा कम हुँदै जाने गम्भीर स्वास्थ्य जटिलताहरू देखिने गरेको छ ।

यसअघि उनलाई नेपालका विभिन्न अस्पतालहरूमा उपचार गर्दासमेत उपचार सम्भव नभएकाले उपचारका लागि भारत लगिएको परिवारले जनाएको छ । राप्ती एकेडेमी अफ हेल्थ साइन्स, घोराही दाङ, केयर सिटी हस्पिटल नेपालगन्ज, काठमाडौँ मेडिकल कलेज काठमाडौँलगायतका नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि छोराको उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि भारतको चण्डीगढस्थित पीजीआईएमईआर पु¥याइएको थियो । त्यहाँका चिकित्सकहरूले दिवांशको रोगको निश्चित उपचारका लागि बोन म्यारो ट्रान्सप्लान्ट आवश्यक रहेको बताएका थिए । तर त्यहाँ प्रत्यारोपणका लागि धेरै नै समय कुर्नुपर्ने अवस्था भएकाले थप ढिलाइले बिरामीको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चिन्ताका कारण अहिले नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इस्टिच्युट एन्ड रिसर्च सेन्टर पु¥याइएको सञ्जुले जनाएका छन् ।

आफ्नो छोराले चाँडो आवश्यक उपचार पाओस् भन्ने कामना गर्दै उपचारको खर्च आफ्नो परिवारको आर्थिक क्षमताभन्दा धेरै माथि रहेकाले सहयोगको अपेक्षा गरेको सन्जुले जनाएका छन् । बोन म्यारो ट्रान्सप्लान्ट र सम्बन्धित उपचारका लागि करिब ७० देखि ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसअघि नै अस्पताल बसाइ, जाँच र उपचारमा धेरै खर्च भइसकेकाले अब यो ठूलो रकम एक्लै जुटाउन आफ्नो परिवारलाई निकै कठिन भइरहेको उनको भनाइ छ ।

‘हाम्रो छोरा स्वस्थ होस्, उसको जीवन सुरक्षित होस् र उसले अरू बालबालिका जस्तै आफ्नो बाल्यकाल खुसीसाथ बिताउन पाओस्,’ सञ्जुले भावुक हुँदै फेसबुकमा लेखेका छन्, ‘त्यसैले आज हामी तपाईंहरू सबै समक्ष हात जोडेर सहयोगको अपिल गर्दछौंँ ।’

सक्नेले जतिसक्दो आर्थिक सहयोग गर्न र नसक्नेले आफ्नो पोस्ट सेयर गरेर अरूसम्म पु¥याइदिन पनि उनले आग्रह गरेका छन् । ‘तपाईंहरूको एउटा सेयरले पनि हाम्रो छोराको उपचारका लागि सहयोग जुटाउन मद्दत गर्न सक्छ,’ उनले भनेका छन्, ‘मेरो छोराको स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिनुहुने सम्पूर्ण मनकारी मनहरूप्रति म हृदयदेखि नै आभारी रहनेछु । कृपया, मेरो सानो दिवांशलाई जीवनसँग लड्ने यो संघर्षमा एक्लो नछोडिदिनुहोस् ।’

आर्थिक सहयोगका लागि सिर्जना रिजालका नाममा प्रभु बैंकमा रहेको एकाउन्ट नम्बर २४००२६१८३८१०००१६ र सन्जुकुमार वलीका नाममा नबिल बैंकमा रहेको एकाउन्ट नम्बर ११८१००१७५००३१५ मा रकम जम्मा गर्न सकिने तथा दिइएका क्यूआर कोड प्रयोग गर्न सकिने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय