अक्षररेखा संवाददाता
बर्दिया, १५ मंसिर
बर्दियाको बाँसगढी नगरपालिकामा अवस्थित एक विद्यालयले विद्यालय स्टाफका छोरीहरूको विवाह परेको भन्दै पढाइ नै बन्द गरिदिएको छ । बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (नेरामावि)ले आफ्ना दुई स्टाफका छोरीहरूको एकै दिन बिहे परेकाले स्थानीय बिदा घोषणा गरी विद्यालयको पठनपाठन नै बन्द गरेको हो ।

मंसिर १४ गते आइतबार नेरामावि बाँसगढीका दुई शिक्षक गीता लामिछाने देवकोटा र विना पौडेलका छोरीहरूको बिहे परेको थियो । विद्यालय नै बन्द गरेर विद्यालयका शिक्षक तथा कर्मचारीहरू सो बिहे भोजमा सरिक हुन पुगेका थिए । एकै दिन दुई स्टाफका छोरीहरूको विवाह परेको र सोका कारण विद्यालयको पठनपाठनमा बाधा पर्ने भएकाले विद्यालयले स्थानीय बिदा घोषणा गर्नुपरेको नेरामावि बाँसगढीका प्रधानाध्यापक ढाकाराम ढकालले जानकारी दिए । उनले एक दिन स्थानीय बिदा बाँकी रहेकाले बाध्यतावश बिदा गरिएको बताए ।

यसबाट सयौँ विद्यार्थीहरूको पठनपाठन मात्र प्रभावित भएको छैन विद्यालयले स्थानीय बिदाको उपयोग कसरी गरिरहेका छन् भन्ने दृष्टान्तसमेत उजागर गरेको छ ।

अझ विद्यालयले सम्पूर्ण विद्यार्थीहरूलाई सूचना नै नदिई र सामान्य प्रक्रियासमेत पूरा नगरी हचुवाका भरमा अकस्मात स्थानीय बिदा घोषणा गरेको पाइएको छ । विद्यालय अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति (विव्यस)बाट निर्णय गराएर त्यसको जानकारी नगर शिक्षा शाखालाई गराउनुपर्नेमा विद्यालयले विव्यसबाट निर्णय नै नगरी स्थानीय बिदाको सूचना शिक्षा शाखालाई पठाएको छ । ‘सबैको सल्लाहमा विव्यसबाट पछि अनुमोदन गर्ने गरी स्थानीय बिदा घोषणा गरिएको हो,’ प्रअ ढकालले भने, ‘पछि हामी विव्यसबाट निर्णय गर्छौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम खत्रीले स्थानीय बिदाको मौखिक सहमति गर्ने गरिए पनि कुनै लिखित निर्णय नहुने गरेको र विद्यालयले नै त्यसको आवश्यकताअनुसार उपभोग गर्दै आएको बताए । उनले पनि यो बिदा गर्नु बाध्यता भएको जनाए । ‘बिहे भोजका नाममा विद्यालय नै बन्द गर्नु त राम्रो होइन, यसले राम्रो सन्देश गएको छैन,’ उनले भने, ‘तर सबै स्टाफ बिहेमा सहभागी हुने भएकाले विद्यालयको पठनपाठन गर्न नसकिने अवस्था आयो । जसले गर्दा विद्यालयको पठनपाठन प्रभावित भयो ।’

उनले यो मात्र नभएर विद्यालयमा धेरै थरिका समस्या रहेको बताए । विद्यालयमा पिरियड व्यवस्थापनमा सधैँ समस्या पर्ने गरेको उनले जानकारी दिए । आफूले यस विषयमा सधैँ कुरा उठाउने गरे पनि सुनुवाइ नहुने गरेको उनको भनाइ छ । ‘कहिले प्रअ मिटिङ, कहिले तालिम, कहिले गोष्ठीका नाममा शिक्षकहरू नगर शिक्षा शाखा धाइरहनुपर्छ,’ उनले भने, ‘जसका कारण पिरियड व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ ।’

उता विद्यालय अभिभावक संघका अध्यक्ष तथा वडा नम्बर ५ का वर्तमान अध्यक्षसमेत रहेका दहवा थारूलाई भने यस विषयमा कुनै जानकारी नै नभएको पाइएको छ । विद्यालय बिदा गरिएको विषयमा आफूलाई कुनै जानकारी नभएको अध्यक्ष थारूले बताए । ‘खै यस विषयमा त मलाई केही थाहा नै छैन,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूलाई केही थाहा छ कि !’

समयमै सबै विद्यार्थीलाई सूचना नुहँदा कतिपय विद्यार्थी बिहानै विद्यालय पुगेका थिए । यो जाडोमा एकाबिहानै विद्यालय पुगेका विद्यार्थीहरू अकस्मात विद्यालय बिदा भएको थाहा पाएपछि आक्रोशित भएका थिए ।

बाँसगढी नगर शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले विद्यालय व्यवस्थापन समितिको निर्णयबाट विद्यालयले आफ्नो अनुकूलताअनुसार स्थानीय बिदा राख्न सक्ने भए पनि त्यसको जानकारी शाखालाई दिनुपर्ने प्रावधान रहेको बताए । ‘विद्यालयमा पठनपाठन अवरुद्ध हुने अवस्था आएमा बिदा राख्न सकिन्छ,’ शाखा प्रमुख रेग्मीले भने, ‘यो विद्यालयकै तजबिजको कुरा हो ।’ नेरामाविको पछिल्लो बिदासम्बन्धी सूचना शाखामा दिइएको पनि उनले जानकारी दिए ।

विद्यालयले वर्षभरिमा पाँच दिन आफ्नो अनुकूलताअनुसार स्थानीय बिदा उपयोग गर्न पाउँछ । तर त्यो बिदा कस्तो बेलामा उपयोग गर्ने भन्ने विवेक विद्यालय प्रशासनलाई हुनुपर्ने विद्यालयका एक अभिभावक बताउँछन् । बिहे भोजमा सरिक हुनकै लागि विद्यार्थीलाई आवश्यक सूचनाबिनै मनोमानी ढङ्गले विद्यालयले बिदाको निर्णय गर्नु गतल भएको उनको बुझाइ छ । विद्यालयका तर्फबाट एक दुई जना शिक्षकले बिहेमा प्रतिनिधित्व गरेर विद्यालयको पठनपाठन सुचारु राख्न सकिनेमा विद्यालय प्रशासनले विवेक पु¥याउन नसकेको उनको भनाइ छ ।

बाँसगढी नगरपालिभित्र सम्भवतः सबैभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको सो विद्यालयको पठनपाठनमा भने खासै ध्यान दिइने गरेको पाइएको छैन । विद्यालयमा हाल १३ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत् छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय