अक्षररेखा संवाददाता
बाँसगढी, १६ मंसिर
बाँसगढी नगरपालिका–५ स्थित बाँसगढी बजारमा कपडा बैंकको स्थापना गरिएको छ । सोमबार बाँसगढी नगरापालिकाद्वारा आयोजित एक कार्यक्रममा गरिब तथा विपन्न परिवारका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै बाँसगढी बजारमा कपडा बैंकको उद्घाटनसमेत गरिएको हो ।

बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्का, उपप्रमुख इन्दिरा चौधरी र फुड एन्ड क्लथ बैंक नेपालका प्रतिनिधि कमल जीसीले संयुक्त रुपमा कपडा बैंकको उद्घाटन गरेका थिए ।

फुड एन्ड क्लथ बैंक नेपालको सहयोगमा बाँसगढी नगरपालिकाले सो कार्यक्रमको आयोजना गरेको हो । न्यानो कपडा वितरण तथा कपडा बैंक उद्घाटन कार्यक्रममा बाँसगढी नगर प्रमुख खड्काले जनताको आवश्यकता अनुसार कपडा वितरण गर्दै जाने बताए । यसपालि बाँसगढी नगरपालिकाका नौ वटै वडामा करिब एक हजार जनालाई कपडा वितरण गरिने र क्लथ बैंक नेपालसँगको सहकार्यमा आगामी दिनमा यस कार्यलाई निरन्तरता दिइने नगर प्रमुख खड्काले बताए ।

कोही पनि नेपालीले कपडाको अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले पुराना कपडाहरु रिसाक्लिङ गरेर त्यसलाई आवश्यकताका आधारमा जनतामा वितरण गरिँदै आएको फुड एन्ड क्लथ बैंक नेपालका प्रतिनिधि कमल जीसीले जानकारी दिए । पुराना कपडा दान गर्न चाहने व्यक्तिले सोही बंैकमा ल्याएर राख्न सक्ने र त्यसलाई आवश्यकताअनुसार रिसाइक्लिङ गरेर फेरि जनतामा वितरण गरिने उनले बताए । ‘कसैलाई बेकार, कसैलाई उपहार’ कार्यक्रमअन्तर्गत यो अभियान सुरु गरिएको उनको भनाइ छ । उनले यस्तो पुनित कार्यमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखे ।

कपडा बंैकको उद्घाटनपश्चात जिसीले बाँसगढी नगर प्रमुख खड्कालाई कपडा बंैकको चाबी हस्तान्तरण गरेका थिए । बाँसगढी बजारको शुभकामना मेडिकलहल अगाडि सो बंैक स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय