सन्दर्भ निर्वाचन–२०८२

सनत सापकोटा
बर्दिया, २४ पुस
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ दलहरूले जिल्लाबाट आ–आफ्ना तर्फका सम्भावित उम्मेवारको नाम आफ्नो पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन् । तर दलहरूले निर्वाचन आयोगमा आफ्ना उम्मेदवारको नामावली भने अझै पठाएका छैनन् । अझै पनि आगामी फागुन २१ गते चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधाका बीच निर्वाचन आयोग र राजनीतिक दलहरूले चुनावको तीव्र तयारी गरिरहेका छन् ।

यसैअन्तर्गत जिल्लास्थित दलका कार्यालयहरूले पार्टी केन्द्रमा आ–आफ्ना सम्भावित उम्मेदवारका नाम सिफारिस गरेका हुन् । समानुपातिकतर्फ भने दलहरूले यसअघि नै उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् ।

निर्वाचन आयोगद्वारा प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय भएकाले यो अवधिमा सिफारिसमा परेका कतिपय व्यक्तिहरूले टिकटका लागि आफ्नो न्वारनदेखिको बल लगाउने पक्का छ । त्यसैले दलका नेता रिझाउन दलका प्रभावशाली नेताहरूको अघिपछि लाग्ने कार्यकर्ताहरूको भीड यतिबेला उल्लेख्य रूपमा बढेको छ, अझै बढ्नेछ ।

कतिपय धूर्त नेताहरूले जिल्ला नेतृत्वलाई प्रभावित पार्दै र आन्तरिक जोडघटाउको फाइदा उठाउँदै आफ्नो एकल नाम सिफारिससमेत गराउन भ्याएका छन् । यसबाट आम मतदातामा जति नै अलोकप्रिय भए पनि पार्टीको जिल्ला नेतृत्वमा उनीहरूको दबदबाको आँकलन गर्न सकिन्छ । तर अधिकांश निर्वाचन क्षेत्रमा एउटा दलबाट कम्तिमा पाँच÷सात जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।

यसै सन्दर्भमा बर्दिया जिल्लाबाट पनि दलहरूले आ–आफ्ना सम्भावित उम्मेदवारहरू छनोट गरेर पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन् । दलहरूबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा पार्टी केन्द्रमा सिफारिस भएका कतिपय नामहरू मददाताको आकांक्षा त परै जाओस् उनीहरूले सुन्दै नसुनेका समेत छन् ।

संघीय संसद्का लागि बर्दियामा दुई निर्वाचन क्षेत्र कायम छन् । जसमा नेपाली कांग्रेसले क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद सञ्जय गौतमसहित ४ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । गौतम यसअघि माओवादी गठबन्धनमा यस क्षेत्रबाट विजयी भएका थिए । त्यसैगरी पार्टीका पूर्व केन्द्रीय सदस्य महेन्द्र शर्मा र महासमिति सदस्यद्वय रत्न थारू र गंगाधर पौडेल पनि क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका छन् ।

त्यस्तै, क्षेत्र नम्बर २ बाट कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य आरजु देउवा राणासहित १० जनाको जिल्लाले सिफारिस गरेको छ । जसमा महासमिति सदस्य तथा पूर्व जिल्ला सचिव विद्याप्रसाद खनाल, नेविसंघका पूर्व केन्द्रीय सदस्य दीपक भण्डारी, जिल्ला सभापति अरूणसिंह राठौर, रामचन्द्र थापा, मीनराज चौधरी, जग्गाप्रसाद पाण्डे, परशुराम चौधरी र मकरबहादुर सिजापति रहेका छन् ।

यसैगरी, नेकपा एमालेका तर्फबाट दुवै निर्वाचन क्षेत्रमा जिल्ला पार्टी कार्यालयले ५÷५ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट पार्टीको जिल्ला अध्यक्षसमेत रहेका शालिकराम अधिकारी, कपिल ज्ञवाली, सुरेश रेग्मी, सुष्मा चौधरी र गोविन्द थपलिया रहेका छन् । ज्ञवाली जिल्ला पार्टी सदस्य तथा जनस्वास्थ्यकर्मी संघका अध्यक्ष हुन् । त्यस्तै, रेग्मी बर्दियाका चिरपरिचित स्वास्थ्यकर्मी हुन् ।

त्यसैगरी, एमालेले क्षेत्र नम्बर २ बाट विमला विक, कुलप्रसाद पोखरेल, पंकजसिंह राठौर, शर्मा थारू र शिवमणि शर्माको नाम सिफारिस गरेको छ । विक यसअघि पनि एमालेको तर्फबाट सांसद तथा मन्त्रीसमेत भइसकेकी व्यक्ति हुन् । त्यसैगरी पोखरेल यसअघि लुम्बिनी प्रदेश सभा सदस्य थिए । राठौर यसअघिको संघीय निर्वाचनमा एमालेका तर्फबाट यसै क्षेत्रका उम्मेदवार थिए । तर उनी पराजित भए ।

त्यस्तै, विभिन्न वामघटकहरू मिलेर बनेको नयाँ दल नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट चर्चित नेता वामदेव गौतमसहित ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस भएको छ । पटक–पटक नेकपा एमालेका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ का सांसद भएका र उपप्रधान तथा गृहमन्त्रीसमेत बनिसकेका गौतमको सिफारिसलाई बर्दियाली जनताले चासोपूर्वक हेरिरहेका छन् । २०७९ सालको आमनिर्वाचनमा सगोत्री सञ्जयसँग झिनो मतले पराजित भएपछि वामदेवले आफ्नो निर्वाचन क्षेत्र र यहाँका जनताप्रति खासै रुचि देखाएका थिएनन् । तर यसपटक नयाँ पार्टीबाट उनको पहिलो नम्बरमा नाम सिफारिस भएपछि बर्दियाप्रति वामदेवको मोह पुन पलाएको त होइन भन्ने चासो बर्दियाली जनतामा छ ।

वामदेवसँगै यसअघि जाजरकोटबाट चुनाव लड्दै आएका शक्तिकुमार बस्नेतको नामसमेत यसै क्षेत्रबाट सिफारिस भएको छ । उनी पहिलोपटक बर्दियाबाट उम्मेदवारको सिफारिसमा परेका हुन् । त्यसैगरी पूर्वसांसद सन्तकुमार थारू, बालकृष्ण खनाल, इन्दिरा सुबेदी र रेशमलाल अधिकारी पनि बर्दिया क्षेत्र नम्बर १ बाट संघीय सांसद उम्मेदवारका लागि पार्टी केन्द्रमा सिफारिस भएका छन् । सांसदका लागि सिफारिमा परेका अधिकारी विद्यार्थी नेता हुन् ।

नेपाली कम्युनिष्ट पार्टीले बर्दिया क्षेत्र नम्बर २ बाट भने सात जनाको नाम केन्द्रमा पठाएको छ । जसमा पूर्वमेयर दुर्गाबहादुर थारू, लोकराज जैसी, सुरेश पन्त, चिन्तामणि आचार्य, बमबहादुर रावत, सञ्जय थारू र सीताकुमारी अर्याल रहेका छन् ।

त्यस्तै, नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले पनि दुवै क्षेत्रबाट आफ्ना एकल उम्मेवारको नाम पार्टी केन्द्रमा बुझाएको छ । पछिल्लो समय थुप्रै ‘सेलिबे्रटी’ नाम तथा केही दल र घटकहरूसँग समेत सहकार्य गर्दै अघि बढिरहेको रास्वपाको गाउँ सहरमा हरेक कोणबाट चर्चा भइरहेको छ । सो दलले क्षेत्र नम्बर १ बाट जिल्ला सचिव दीपक खनाल र २ बाट श्रीधर पोखरेलको नाम सिफारिस गरेको छ ।

राजनीतिक दलहरूले निर्वाचन आयोगमा उम्मेदारी दर्ता गर्न अझै १२ दिन बाँकी रहेकाले उनीहरूले कसलाई आफ्नो उम्मेदवार बनाउँछन् भन्ने कुरा त गर्भमै छ । तर जिल्लाबाट केन्द्रमा नाम सिफारिस भएपछि उम्मेदवार बन्नका लागि यतिबेला पार्टी केन्द्रहरूमा दौडधुप भने तीव्र भएको छ । दलबाटै हुने ‘प्रारम्भिक परीक्षा’मा क–कसले बाजी मार्लान् र उम्मेदवारहरू चुनावमा कसरी होमिएलान् त्यो हेर्न भने आममतदाताले माघ ९ गते दिउँसो ३ बजेसम्म कुर्नैपर्नेछ । त्यसपछि हुने चुनाव र आउने अन्तिम परिणामका लागि त कम्तिमा फागुन २३÷२४ गतेसम्म कुर्नैपर्ने हुन्छ ।

निर्वाचनको आन्तरिक तयारी तीव्र रूपमा अघि बढिरहेको भए पनि निर्वाचनप्रति आम मतदाताको भने खासै आकर्षण अझै देखिएको छैन । बर्दिया जिल्लामा यिनै प्रमुख चार दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय