अक्षररेखा संवाददाता
बाँसगढी, ९ माघ
श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर शुक्रबारदेखि बाँसगढी नगरपालिकामा नयाँ विद्यालय सञ्चालनमा आएको छ । बाँसगढी नगरपालिका–३ स्थित उत्तरभकारीमा ‘बालसंसार एकेडेमी’ सञ्चालनमा आएको हो ।

औपचारिक रूपमा उद्घाटन हुन बाँकी रहे पनि सरस्वती पूजाको विशेष अवसर पारेर आजदेखि विद्यालय शुभारम्भ गरिएको विद्यालयका फाउन्डर ईश्वरीप्रसाद रिजालले जानकारी दिए । आगामी वैशाखतिर विद्यालयको औपचारिक उद्घाटन गरिने उनले बताए ।

विद्यालयले आजैका दिनदेखि निःशुल्क भर्नासमेत सुरु गरेको छ । ‘आजदेखि निःशुल्क भर्ना सुरु भएको छ,’ रिजालले भने, ‘पछि पनि निःशुल्क भर्नालाई निरन्तरता दिइनेछ ।’

बढैयाताल गाउँपालिकाको मैनापोखरमा अवस्थित कृष्णसार विद्या निकेतनको व्यवस्थापनमा सो विद्यालय सञ्चालन भएको रिजालले जानकारी दिए । हाललाई पूर्वप्राथमिक कक्षा सञ्चालनको अनुमति लिइए पनि क्रमशः कक्षा बढाउँदै लगिने उनले बताए । ‘हाललाई ३ कक्षासम्म पठनपाठन हुन्छ,’ रिजालले भने, ‘अवश्य पनि पछि कक्षा वृद्धि हुँदै जानेछ ।’

नवीन विधि, नयाँ प्रविधि र शैलीका साथ विद्यालय सञ्चालन गरिएको रिजालले जानकारी दिए । विद्यालयमा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारका साथै आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन हुने पनि उनले दाबी गरे ।

विद्यालय शुभारम्भको अवसर पारेर विद्यालय व्यवस्थापनले निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्दै छ । सो शिविरमा विशेषज्ञ डाक्टरहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ । बालरोग विशेषज्ञ डा.विष्णुकुमार थापा र फिजिसियन डा. उज्वल अर्यालसहितको स्वास्थ्य टोलीले आगन्तुकहरूको स्वास्थ्य परीक्षण गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय