अक्षररेखा संवाददाता
बाँसगढी, १८ चैत
कोहलपुर–१० विद्यानगरस्थित तक्षशिला एकेडेमीले आगामी शैक्षिक सत्रदेखि बर्दियाको बाँसगढी र बाँकेको शमशेरगन्जसम्म बससेवा विस्तार गर्ने भएको छ । अभिभावकहरूको मागलाई ध्यानमा राखेर बससेवा सञ्चालन गर्न लागिएको एकेडेमीका अध्यक्ष विष्णुप्रसाद बेल्बासेले जानकारी दिए ।
‘त्यस क्षेत्रका धेरै अभिभावकले पहिलेदेखि नै बस सेवा नभएका कारण बच्चा पठाउन गाह्रो परेको गुनासो गर्नुभएको थियो तर विविध कारणले यसअघि हामीले बस पठाउन सकेका थिएनौँ,’ अध्यक्ष बेल्बासेले भने, ‘यस शैक्षिक सत्रदेखि बर्दियाको बाँसगढी बजार र राप्ती सोनारी गाउँपालिकाको शमशेरगन्जसम्म बससेवा पु¥याउँछौँ ।’
शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूद्वारा २०७२ सालदेखि कोहपुरमा सञ्चालन हुँदै आएको तक्षशिला एकेडेमीले शिक्षण सिकाइमा केही नयाँ विधिहरू अवलम्बन गर्दै आएको छ । विद्यालयले पाठ्यक्रमका अलावा १ घन्टाको ‘जिरो क्लास’ (शून्य कक्षा)समेत सञ्चालन गर्दै आएको छ । जसमा विद्यार्थीले आफ्नो रुचिअनुसारका अतिरिक्त क्रियाकलापमा भाग लिन सक्छन् । ‘हरेक विद्यार्र्थीमा भिन्न–भिन्न रुचि र क्षमता हुन सक्छन्,’ अध्यक्ष बेल्बासे भन्छन्, ‘सम्बन्धित शिक्षकको सहजीकरणमा विद्यार्थीहरूले आफ्ना रुचिअनुसारका विधामा अभ्यास गर्न पाउँछन् । यसले विद्यार्थीमा रहेका अन्तर्निहीत कलालाई प्रस्फुटन गर्ने अवसर मिलेको छ ।’ चित्रकला, नृत्य, संगीत, वक्तृत्वकला, खेललगायतका विधामा विद्यार्थीहरूलाई शून्य कक्षामा प्रशिक्षित गरिँदै आएको छ ।
अत्याधुनिक भौतिक संरचनासहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालय व्यवस्थापनको दाबी छ । ‘हामी शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्दैनौँ,’ अध्यक्ष बेल्बासे भन्छन्, ‘पाठ्यक्रमका अलावा नैतिक शिक्षा, व्यवहारिक ज्ञान, सिर्जनात्मक क्रियाकलापलगायमा थप जोड दिन्छौँ ।’ विद्यार्थीहरूलाई पाठ्यक्रमा आधारित आधुनिक ज्ञानका अलावा पूर्वीय दर्शनमा आधारित ज्ञानगुनका कुरा सिकाइने गरेको उनले बताए । ‘हामीले विद्यालयको नाम नै तक्षशिला राख्नुको प्रमुख कारण यही हो,’ उनी भन्छन्, ‘जसमा बच्चाहरूलाई सानैदेखि आफ्नो संस्कार, संस्कृति, नैतिकता तथा बानीव्यहोरामा सुधारजस्ता कुराहरू सिकाउँछौँ ।’

दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठनपाठन हुँदै आएकाले यहाँ आउने विद्यार्थी तथा अभिभावकहरू सन्तुष्ट रहने गरेको उनको भनाइ छ । ‘अन्य स्कुलहरूमा जस्तो प्रत्येक वर्ष नयाँ–नयाँ शिक्षक फेरिने समस्या हामीकहाँ छैन,’ बेल्बासेले भने, ‘धेरैजसो संस्थापक शिक्षकहरू भएकाले उहाँहरू अनुभवी हुनुहुन्छ ।’ लामो समयदेखि शिक्षा क्षेत्रमै काम गर्र्दै आएका डा. पुष्करनाथ रिजाल, डा. खोपीराम वलीलगायतको प्रत्यक्ष संलग्नतामा सो विद्यालय सञ्चालन भइरहेको छ ।
‘क’ वर्गको शिक्षण संस्थाको मान्यता पाएको तक्षशिला एकेडेमीले भौतिक संरचनातर्फ पनि सबै सुविधाहरू उपलब्ध गराएको छ । अझ अध्यक्ष बेल्बासेले त अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यालय सञ्चालन हुँदै आएको दाबी गरे ।
विद्यालयले वातानुकूलित कक्षाकोठा, स्मार्ट बोर्डका माध्यले पठनपाठन, स्वीमिङ पुल, फुटसल, क्रिसललगायतका खेल पूर्वाधारहरू उपलब्ध गराउँदै आएको छ । कक्षा कोठाका भित्ताहरूमा पार्किङसमेत गरिएको छ । विद्यालयपरिसरमा खाजा घरसमेत सञ्चालन गरिएको छ जसमा अर्गानिक खानेकुरा मात्र पाइने व्यवस्थापनको दाबी छ ।
अत्याधुनिक सेवासुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्र्दै आएको तक्षशिला एकेडेमी महँगो पनि त होला नि ? अभिभावकलाई थप आर्थिक बोझ पर्दैन ? भन्ने प्रश्नमा बेल्बासे भन्छन्, ‘अन्य निजी विद्यालयहरूमा बच्चा पढाउन सक्ने अभिभावकले तक्षशिलामा पनि सहजै पढाउन सक्छन् । सय पचास तलमाथि पर्न सक्छ । तर ठूलो आर्थिक बोझ थपिँदैन ।’
एक हजारभन्दा बढी विद्यार्थी सहजै पठनपाठन गर्ने क्षमता भएको सो विद्यालयमा हाल ८ सयको संख्यामा विद्यार्थी पठनपाठन गर्दै आएका छन् ।





