आज मातातीर्थ औँसी, आमा औँसी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिनलाई विभिन्न नामले पुकारिन्छ । जुनसुकै नामले पुकारे पनि यो एउटा पुण्य दिनका रूपमा नेपाली समाजमा स्थापित छ । नेपाली समाजका लागि यो दिन सबैभन्दा महान् तीर्थको दिन हो । वैशाख कृष्ण औँसीका दिन नेपाली समाजमा आमाप्रति श्रद्धाभक्तिपूर्वक विशेष सम्मान प्रकट गरिन्छ ।
आमा शब्द आफैँमा गरिमायुक्त, महिमायुक्त र भक्तिभावले परिपूर्ण शब्द हो । आमाको महत्व, गरिमा र महिमाका बारेमा धेरै विद्धान–विदूषीहरूले लेखेका, बोलेका छन् । तर पनि यसले अझै पूर्णता र न्याय पाउन सकेको जस्तो लाग्दैन । आज पनि आमाप्रतिका मानिसका आफ्ना विचार, धारणा र सम्मान उस्तै रूपमा प्रकट हुने गरेका छन् । यो सृष्टि रहुन्जेलसम्म आमाप्रतिको सम्मान यसैगरी प्रकट हुँदै जानेछ भन्ने विश्वास गर्न सकिन्छ ।

आमाको सम्मानस्वरूप विभिन्न उपमा, विशेषण, अलंकार, बिम्ब, प्रतीक प्रयोग हुँदै आएका छन् । तर ती कुनै पनि बिम्ब, प्रतीक र अलङ्कार अधूरा लाग्छन्, अपूरा लाग्छन् । आमाको महिमा जति गाए पनि सकिँदैन । आमाको महानताको शब्दमा वर्णन गरेर सकिँदैन । हजार
जिब्रा भएका शेषनागले समेत आमाको महिमाबारे वर्णन गर्न सक्दैनन् भने हामी नाथे मानिसले के गर्न सकौँला ! जसले हामीलाई यो धर्तीमा जन्म दियो, कर्म दियो, संस्कार दियो सबै चिज दियो । उसलाई हामीले के नै दिन सक्छौँ र !
आमा नाताभन्दा पनि सम्बन्ध र भावनासँग गाँसिएको शब्द हो । आस्थासँग गाँसिएको कुरा हो । हामी भगवान्लाई प्रकट रूपमा देख्न सक्दैनौँ तर पनि भगवान्प्रतिको आस्था हाम्रा मनमनमा छ । त्यसैले त बाआमालाई जिउँदो भगवान्को रूपमा मानिसको रेखदेख गर्न धरतीमा पठाएको हुनुपर्छ ।
नेपाली समाजमा हरेक वर्षको वैशाख कृष्ण औँसीका दिन विशेष पर्वको रूपमा हर्षउल्लासपूर्वक मनाइन्छ । जीवित आमाहरूलाई मीठो मीठो खानेकुरा र मनपर्ने उपहार दिएर आमाबाट आशीर्वाद ग्रहण गरिन्छ भने दिवंगत आमाको सम्झनामा नजिकका तीर्थस्थल अथवा पोखरीमा स्नान गरी आमाको सम्झनामा दान गर्ने गरिन्छ । विशेषतः यस दिन दिवंगत आमाहरूको सम्झना गर्न काठमाडौँमा रहेको मातातीर्थमा ठूलो भीड लाग्ने गर्दछ । मातातीर्थ पोखरीमा स्नान गरी तपर्न दिने र दिवंगत माताको मोक्षका लागि भगवान्सँग प्रार्थना गर्ने गरिन्छ ।
मेरा लागि मातातीर्थ औँसी सदाका लागि पीडादायी दिनका रूपमा रहन गयो । अब यो दिन मेरो स्मरणमा गहिरो खील बनेर रहेको छ ।२०८२ साल वैशाख १४ गते मेरा लागि माता औँसी भन्ने शब्द नै सदाका लागि बोझिलो र पीडादायी बनिदियो । नराम्रो स्मरण बनी मानसपटलमा सदाका लागि नमेटिने घाउ बन्यो । २०८२ सालको वैशाख कृष्ण पक्ष अर्थात् माता औँसीको दिन सबै सन्तान आफ्नी आमाहरूका लागि झोलामा मीठामीठा पकवान्न र उपहार लिई आमाको आशीर्वाद ग्रहण गर्न जाँदै थिए । उनीहरू क्षणिक भए पनि आमाको सानिध्यमा रमाउन लालायित देखिन्थे । हाँसीखुसी हिँडिरहेका थिए । तर म भने मेरी आमालाई रातो अबिर र फूलमालाले सजाएर सदाका लागि बिदा गर्न भनी घाटतिर जाँदै थिएँ । आगोको आगुल्टोले आमाको मुखमा मुखाग्नि दिँदै थिएँ । जीवनमा यस्तो क्षणको पनि सामना गर्नुपर्ला मैले सोचेकी थिइनँ । त्यो पल मेरा लागि जीवनकै सबैभन्दा पीडादायी क्षण थियो । यस्तो लाग्दै थियो, अब म यो संसारमै एक्लो भएकी छु, रित्तिएकी छु ।धर्तीभन्दा गह्रुङ्गो आकाशभन्दा फराकिलो आमाको माया क्षणभरमै खरानीमा परिणत भएको थियो । लाग्यो संसारकै आभागी छोरी म नै हुँ ।
मलाई जीवन दिने मात्र नभएर जीवन जिउनसमेत सिकाउने मेरी आमा मबाट सदाका लागि टाढा जानुभएको थियो । संस्कार र संस्कृति के हो र यसलाई कसरी अगाडि बढाउनुपर्छ भनी सिकाउने आमा एकाएक मेरो जीवनबाट मलाई एक्लो बनाई यससंसारबाट बिदा लिँदा यो आकाश ममाथि नै खसे जस्तो र धर्ति नै चिरा चिरा भएजस्तो लागेको थियो । मेरो जिन्दगीमा ठूलो भूकम्प आएको थियो जसले मलाई ६ महिनाभन्दा बढी एकोहोरो बनाइरह्यो । जिन्दगी आखिर के नै रहेछ र ? यो त सबै नाटकीय खेल रहेछ जहाँ विभिन्न किसिमका नाता सम्बन्धहरू अटूट भएर जोडिएका हुन्छन् र क्षणभरमै तहसनहस भई जिन्दगी नै एक्लो बनाइदिने रहेछन् ।
म पटक–पटक झस्किरहने गर्न थालेकी थिएँ । गहिरो सोचमा डुब्न थालेकी थिएँ । म मेरै सन्तान र श्रीमान्सँग पनि आखिर मेरो के नै सम्बन्ध रहेछ र ! जुन सम्बन्ध कतिबेलै पनि टुट्न सक्दो रहेछ भन्ने लाग्थ्यो । सम्बन्ध के नै रहेछ र भन्ने सोच आउन थाल्यो र सबैसँग टाढा टाढा हुन मन लाग्न थाल्यो । मेरो के नै रहेछ र ! मेरो को नै रहेछ र ! भन्ने भावना मानसपटलमा घुमिरहन थाल्यो । यसरी दिन बित्दै गर्दा झस्किने, तर्सिने, आमा भन्दै चिच्याहट आइरहने हुन थाल्यो, जसले गर्दा दिनप्रतिदिन मेरो स्वास्थ्य बिग्रिँदै गएको थियो र दिमागमा अरू कुराहरू अटाउन नसक्ने भएको थियो । सम्बन्धका कुरा, जिम्मेवारीका कुरामा म टाढिँदै जान थालेकी थिएँ । एक दिन आमाले दिएका अर्ती–उपदेश, ज्ञान र जिम्मेवारीका कुरा दिमागमा घुमिरहे । जसले म पनि त एक आमा हुँ । भोलि मलाई देखेर मेरा सन्तान पनि यस्तै भए भने के होला भन्ने लाग्यो । र आफूलाई ऐनाअगाडि उभ्याएर प्रश्नमाथि प्रश्न गरेँ ।म आफूलाई प्रश्न गर्दै थिए, मेरो पीडा मेरा आँखाबाट पखालिइरहेका थिए । जसले गर्दा म अब त्यो सोच र चिन्तनबाट टाढा हुनुपर्छ भनी मनलाई दृढ बनाउन थाले । सबैभन्दा पहिला मेरी आमा, मेरा सन्तान र मेरो परिवारका लागि म दृढ बन्नु जरुरी थियो । जसले मलाई थप शक्ति र ऊर्जा दिनेछ । आमाले देखेका अधुरा सपना पूरा गर्न सके आमाको आत्मालाई शान्ति मिल्नेछ ।
जब बिहानबाट म मेरो दैनिकी सुरु गर्छु आमाका दिव्य वाणीहरू मनमा गुन्जिरहन्छन् । समुद्रको तेज बेगसरी आखाँभरि आँसु आई आमाको सम्झनालाई झन् झन् पुनर्ताजगी गर्दछन् । हरेक दिन पूजाकोठा मा होस् या त भान्सा कोठामा, हिँड्दै गर्दा होस् या त आफ्ना सन्तानलाई सम्झाउँदै गर्दा आमाकै मुहार सम्झनामा आइरहन्छ । हरेक दिन एक पटक आमाको सम्झनामा आँसु झरिनै रहन्छ ।
अबका दिन कसरी बित्छन् त्यो म यसै भन्न सक्दिनँ । किनकि मानिस स्वयम्को भविष्य मानिसको हातमा छैन । उसले चाहेका र सोचेका सबै काम उसले पूर्ण गर्न सक्दैन । हरेक आमा उनका सन्तानका लागि महान् र विशेष हुन्छिन् । मेरी आमा पनि मेरा लागि महान्, विद्वान, ज्ञानवान र संस्कारवान हुनुहुन्थ्यो । आफ्नो नामसमेत लेख्न नसक्ने मेरी आमा विधि, व्यवहार र संस्कारमा पारङ्गत हुनुहुन्थ्यो । हरेक प्रसङ्गमा सबैभन्दा पहिला कुरा बुझेर हामीलाई बुझाउने र सम्झाउने गर्नुहुन्थ्यो । यस्तो लाग्थ्यो, आमामा शैक्षिक योग्यताको आधिकारिक प्रमाणपत्र नभए पनि उहाँमा विद्यावारिधिभन्दा पनि माथिको ज्ञान र चेतना थियो । जसलाई आधार बनाई म आफूलाई हरेक कठोर परिस्थितिको सामना गरी आज यो ठाउँसम्म आइपुग्न सफल भएकी छु ।
मेरा हरेक सफलतामा उहाँको अतुलनीय योगदान छ । तर आज मेरो सफलता को क्षण देख्न र महसुस गर्न नपाई यो संसारबाट बिदा हुनुभएको छ । यो कुरा मेरो जीवनमा सदैव खड्किरहनेछ । हरेक आमाका लागि सबै सन्तान उत्तिकै प्यारा र मायालु हुन्छन् । मेरी आमाका लागि म अझै विशेष थिएँ । आमाले मेरो बारेमा बढी चिन्ता लिने पनि आफ्नै कारण थियो । आमाको बुढेसकालमा जन्मिएकी छोरी थिएँ म । आमासँग मेरो उमेर भिन्नता मात्रै नभएर मेरा दाजुहरू र मेरी दिदीसँग पनि मेरो ठूलो उमेर भिन्नता छ । सबै छोराछोरी हुर्किएर आफ्नो क्षेत्रमा सफलता हासिल गरिसकेका थिए । तर म भने अध्ययनकै क्रममा थिएँ । मेरी आमाले म कान्छी छोरीको संघर्षको जीवन मात्रै देख्न पाउनुभयो । म पनि अरु छोराछोरीजस्तै सफल भएको देख्न सधैँ भगवान्सँग कामना गरिरहने मेरी आमालाई जीवनको अन्तिम क्षणसम्म पनि मेरै चिन्ताले सताइरहन्थ्यो ।
म आमालाई सान्त्वना दिँदै भन्थेँं– आमा मेरो केही चिन्ता लिनुपर्दैन । म आफैँ सक्षम छु, हजुरले दिएको संस्कार र मैले आर्जन गरेको ज्ञानले मलाई पनि एक दिन सफलता अवश्य मिल्नेछ । हजुरको ज्ञान र उपदेशका कारण म कहिल्यै पनि गलत बाटोमा हिँड्ने छैन र हजुरको आत्मविश्वासले म जसरी पनि सफल भई सुखी जीवन बिताउनेछु । सम्पूर्ण महान् आमाहरूलाई आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसीको शुभकामना !
-
दिलु पौडेल, (बाँसगढी, बर्दिया)


