अक्षररेखा संवाददाता
बर्दिया, ११ वैशाख
केही दिनदेखि पश्चिमी तराईका दाङ, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ । यी जिल्लाहरूमा बिहानपख आकाशमा तुवाँलो देखिने गरेको छ । हावामा धुवाँ र धुलोका कण मिसिएका कारण आकाश धुम्म देखिन्छ ।
यसरी वातावरण प्रदूषित हुनुमा विभिन्न कारणहरू रहने गरेको पाइएको छ । जसले वातावरणीय सन्तुलन गुम्नुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर गरिरहेको छ ।
मौसमी प्रणाली र मानवजन्य क्रियाकलापका कारण वातावरणमा यसरी तुवाँलो देखिने गरेको जल तथा मौसम कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले जानकारी दिए । यसको प्रमुख कारण कृषिजन्य अवशेषहरू जलाइनु नै भएको उनले बताए ।
‘नेपालमा मात्र नभएर भारतमा समेत यतिबेला ठूलो मात्रामा कृषिजन्य अवशेष जलाइने गरेको छ,’ उनले भने, ‘त्यही धुवाँ र धुलो वातावरणमा मिसिनाले यस्तो अवस्था देखिएको हो ।’
सुक्का मौसम, आगजनी र वन डढेलोमा वृद्धिलगायतका कारण पनि वातावरण प्रदूशित भइरहेको उनको भनाइ छ ।
यो समयमा पानी पनि कम पर्ने र पछिल्ला वर्षहरूमा भारतमा कृषिजन्य अवशेष जलाउने कार्य तीव्र रूपमा बढेकाले त्यसको प्रत्यक्ष असर नेपालको तराई क्षेत्रमा परिरहेको अवस्थीले बताए ।
वातावरण कार्यालय दाङ, देउखुरीको पछिल्लो तथ्यांक अनुसार यहाँको आजको वायु गुणस्तर सूचकांक ११३ रहेको छ जुन खराब मानिन्छ । अवस्थीका अनुसार सामान्यतया ४० सम्मको सूचकलाई सामान्य वातावरणीय अवस्था मानिन्छ ।
यो समस्या केही दिन अझै बढ्न सक्ने अनुमान उनको छ । ‘नेपालमा अझै वन डढेला खासै सुरु भएको छैन,’ उनले भने, ‘वन डढेलो सुरु भयो भने यो समस्या अझै बढ्न सक्छ ।’
यो पानी कम पर्ने समय हो । पानी कम पर्ने भएकाले वातावरणमा देखिएको धुलो र धुवाँ पखालिन पाउँदैन । ‘अझै केही समय यहाँ पानी पर्ने सम्भावना देखिँदैन,’ अवस्थीले भने, ‘एक दुईफेर पानी नपरेसम्म यो समस्या कम हुँदैन । जुन मौसमी प्रणालीमा भर पर्छ ।’
