अक्षररेखा संवाददाता
बर्दिया, ३ जेठ
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आहार प्रजातिको गणना सुरु भएको छ । गत बिहीबारदेखि बाघको आहारा प्रजातिको गणना सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए ।

निकुञ्जमा बाघको गणनासँगै बाघका लागि आवश्यक पर्ने आहार प्रजातिको पनि गणना हुने गरेको तुम्बाहाम्फेले बताए ।

‘यो नियमित प्रक्रिया हो,’ तुम्बाहाम्फेले भने, ‘बाघ गणनासँगै आहारा प्रजातिको अवस्था के छ भनेर पनि सर्वेक्षण गर्र्र्ने गरिएको छ ।’
बर्दियालगत्तै बाँके राष्ट्रिय निकुञ्जमा पनि गणना सुरु गरिने उनले जानकारी दिए ।

सन् २०२६ मा क्यामेरा ट्रयापिङमार्फत गरिएको बाघ गणना कार्य गत महिना सकिए पनि यसको नतिजा आउन भने केही समय लाग्ने उनले बताए । बाघ गणनासँगै आहारा प्रजातिको पनि गणना सुरु भएको हो ।

सन् २०२२ मा गरिएको आहार प्रजातिको गणनामा बर्दियामा ९० दशमलव २ प्रतिशत आहारा प्रजातिको उपस्थिति पाइएको थियो । विगतका सर्वेक्षण र हालको प्रारम्भिक नजिता अनुसार बाँके र बर्दियामा बाघको आहार प्रजातिको संख्या राम्रै रहेको उनले बताए ।

तुम्बाहाम्फेका अनुसार बाघको प्रमुख आहाराका रूपमा चित्तल प्रजाति पर्छ । जसमा मृग, जरायो, बाह्रसिंगे, रतुवालगायतका वन्यजन्तु पर्छन् । त्यसैगरी, बँदेलसमेत बाघको आहार प्रजातिमा पर्ने वन्यजन्तु हो । चौकाका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रख्यात छ जुन बाघको आहारा प्रजातिमै पर्छ ।

सन् २०२२ मा गरिएको बाघ गणनाको तत्यांकअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ पुगेको छ । जबकि त्यसअघि बर्दियामा बाघको संख्या जम्मा ८७ थियो । त्यसैगरी, बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेकोमा सन् २०२२ मा २५ वटा पुगेका छन् ।

बाँके र बर्दियामा बाघको आहारा प्रजातिको पर्याप्तता भएकैले बाघको संख्या वृद्धि हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सघाउ पुगेको हो । वनमै पर्याप्त आहारा र उचित बासस्थान भएमा वन्यजन्तु बस्तीतिर प्रवेश नगर्ने र यसबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने संरक्षणकर्मीहरू बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय