अक्षररेखा संवाददाता
बर्दिया, ८ जेठ
लुम्बिनी प्रदेशका तराई तथा पहाडी जिल्लाहरूमा अझै केही दिन गर्मी बढ्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार बिहान गरेको तीनदिने मौसम प्रक्षेपणअनुसार लुम्बिनी तथा सुदूर पश्चिम प्रदेशका तराई तथा केही पहाडी भूभागमा अझै केही दिन तातो लहरसँगै गर्मी बढ्ने जनाएको हो ।
अन्य प्रदेशका विभिन्न स्थानमा बदलीसहित पानी पर्ने सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा केही पहाडी भूभागमा अझै केही समय वर्षा हुने सम्भावना नरहेको र तातो लहर चल्ने भएकाले गर्मी बढ्नसक्ने अनुमान गरिएको छ । अत्यधिक गर्मी बढेसँगै सतर्कता अपनाउन पनि विभागले सर्वसाधारणमा अनुरोध गरेको छ ।
केही दिनयता लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङलगायतका जिल्लाहरूमा अत्यधिक गर्मी महसुस गरिँदै आएको छ । गत चार पाँच दिनदेखि यी स्थानहरूमा तापक्रम बढ्दै गएको छ । गत तीन दिनदेखि ४० डिग्री सेल्सियल आसपास रहेको यहाँको अधिकतम तापक्रम बिहीबार भने बढेर ४१ दशमलव ५ डिग्र्री पुगेको छ । यो साताकै उच्च तापक्रम हो । यहाँको तापक्रम केही दिन अझै बढ्नसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगन्जकी मीना शिवाकोटीले जानकारी दिइन् ।
यो यसै पनि गर्मी हुने महिना भएको, अझै मनसुन सुरु भइनसकेको र बदली पनि नभएकाले तापक्रम बढेको मौसम कार्यालय कोहलपुरले जनाएको छ । नेपालका अन्य भूभागमा फाट्टफुट्ट बदली र वर्षा भए पनि लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा भने लामो समयदेखि पानी पर्न सकेको छैन । यहाँको मौसम सफा रहँदै आएको छ । जसका कारण तापक्रम पनि बढ्दै गएको छ ।
अत्यधिक तापक्रम र तातो लहर बढेसँगै यहाँको जनजीवन प्रभावित हुँदै आएको छ । तातो हावासहित अत्यधिक गर्मी भएकाले अस्पतालहरूमा बिरामीको संख्या बढेको पाइएको छ । अत्यधिक गर्मी र तातो हावा बहने गरेकाले दिउँसोको समयमा हिँडडुल नगर्न, अत्यधिक पानी पिउन र गर्मीबाट बच्ने अन्य उपायहरू अवलम्बन गर्न चिकित्सकहरूले सुझाव दिँदै आएका छन् ।
