अक्षररेखा संवाददाता
बाँसगढी, १४ जेठ
आगामी जेठ १७ गते बाँसगढी बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचन हुने भएको छ । सर्वसम्मतिबाट सञ्चालक समिति चयन गर्ने प्रयास भए पनि नेतृत्वका लागि हानथाप भएपछि अन्ततः १७ गते निर्वाचनद्वारा नै कार्यसमिति चयन हुने भएको हो । सो निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले आगामी १७ गते हुने निर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा ३ जनाले अध्यक्ष पदका लागि र दुई जना महिला सदस्यसहित २२ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएको निमित्त निर्वाचन संयोजक गोविन्द शर्माले जानकारी दिए ।
क्याम्पसजस्तो शैक्षिक संस्थामा दलीय प्रभावका आधारमा भन्दा शिक्षा क्षेत्रमा योगदान दिनसक्ने सक्षम व्यक्ति आउनुपर्ने भन्दै क्याम्पसका सदस्यहरूले जोड दिँदै आएका थिए । तर अन्ततः दलीय प्रभावकै आधारमा निर्वाचनद्वारा नै समिति चयन हुन लागेको हो ।
‘सर्वसम्मतिबाट कार्यसमिति चयन गर्ने प्रयास गरिएको थियो,’ एक जना सदस्यले भने, ‘तर नेतृत्व कसले लिने भन्ने विवादका कारण सहमति जुट्न सकेन ।’ क्याम्पस प्रशासनले पनि १३ गते बेलुकी यहाँस्थित राजनीतिक दलका प्रतिनिधिहरूसँग बसेर सर्वसम्मतिबाटै नेतृत्व चयन गर्न सुझाव दिएको थियो । तर सो प्रयास पनि सफल हुन सकेन ।
अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रेशम अधिकारीले उम्मेदवारी दिएका छन् । त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका लागि लोकप्रसाद शर्माको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदकै लागि केशव पौडेले पनि उम्मेदवारी दिएका छन् । पौडेलले कुनै दलबाट नभएर आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरेका छन् । त्यस्तै, नेकपा एमालेका तर्फबाट अध्यक्षका लागि सुरेश रेग्मीको उम्मेदवारी परेको भए पनि अन्तिममा रेग्मीसहित एमाले समर्थक सबै जनाले उम्मेवारी फिर्ता लिएका थिए ।
त्यसैगरी, महिला सदस्यहरूमा एक पदका लागि २ जनाको उम्मेदवारी परेको छ भने ११ खुला सदस्य पदका लागि २० जनाको उम्मेदवारी परेको छ । वर्तमानमा बाँसगढी बहुमुखी क्याम्पस समस्याग्रस्त अवस्थामा रहेको, अध्यापक तथा कर्मचारीले लामो समयसम्म तलब खान नपाएको र विद्यार्थीको पठनपाठन प्रभावकारी हुन नसकेको गुनासो बढिरहेका बेला दलीय प्रभावका आधारमा सञ्चालक समिति चयन गर्न खोजिएकोमा क्याम्पसका सदस्य तथा अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् ।







