अक्षररेखा संवाददाता
बाँके, १२ जेठ
पत्रकारिता तथा उद्घोषण तालिमपश्चात आफूहरूमा स्पष्ट रूपमा आफ्ना कुरा राख्न सक्ने आत्मबल वृद्धि भएको तालिमका सहभागीहरूले बताएका छन् । कोहलपुरमा सञ्चालित ६ दिने पत्रकारिता तथा उद्घोष तालिम समापनका अवसरमा सहभागी महिलाहरूले तालिमपश्चात आफूहरूले धेरै कुरा जान्ने र बुझ्ने अवसर पाएको बताए ।
दलित महिला जनप्रतिनिधि तथा सम्भाव्य महिलाहरूको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोगमा बिहानी मिडिया एन्ड मल्टिपल एकेडेमी प्रालिको आयोजनामा जेठ ७ गतेदेखि कोहलपुरमा ६ दिने पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन भएको थियो । तालिममा कोहलपुर नगरपालिकाका सबै वडा र राप्ती सोनारी गाउँपालिकाका ८ र ९ नम्बर वडाका दलित महिला जनप्रतिनिधि र सम्भाव्य ३३ जना महिलाहरूको सहभागिता रहेको थियो ।

सो तालिममा सहभागी राप्ती सोनारी गाउँपालिकाकी साधिका सुनारले जनप्रतिनिधि भए पनि विगतमा कतिपय कुरा निर्धक्क बोल्न नसक्ने आफू तालिमपछि खुलेर बोल्नसक्छु भन्ने अनुभूति भएको बताइन् । ‘अब म आफ्ना कुरा निर्धक्क राख्नसक्छु जस्तो लाग्छ,’ राधिकाले भनिन्, ‘जनप्रतिनिधि भए पनि विगतमा आफ्ना कुरा राख्न लजाउने र धकाउने गरेकी थिएँ । यो तालिमले मलाई निर्धक्क हुन सिकाएको छ ।’
त्यस्तै, कोहलपुर नगरपालिका– १२ की पवित्रा खरेलले पत्रकारिता तथा उद्घोषण तालिमपछि सामाजिक सञ्जालमा लेख्दा पनि कस्ता कुरा लेख्ने, कस्ता कुरा पोस्ट र रिपोस्ट गर्ने भन्ने कुरा थाहा भएको बताइन् । उनले विगतमा आफूले सामाजिक सञ्जाल प्रयोग गर्दा सूचनाको सत्यतथ्यप्रति खासै ध्यान नदिने गरेकोमा तालिमपछि आफूमा त्यो चेत पलाएको बताइन् ।
त्यस्तै, तालिममा सहभागी सरिता बुढाले आफूले यस्तो तालिम पहिलोपटक लिएको बताउँदै बोल्दा कसरी बोल्नुपर्छ, लेख्दा कस्ता कुरा लेख्नुपर्छ र कस्ता कुरा लेख्नु हुँदैन, अपुष्ट कुरा जथाभावी बोल्दा र लेख्दा समाजमा कस्तो नकारात्मक असर पर्छ भन्नेबारे धेरै कुरा बुझ्ने अवसर पाएको बताइन् । कुनै पनि कुरा बोल्दा सत्यतथ्य जाँच गर्नुपर्नेरहेछ भनेर आफूले सिकेको उनको भनाइ छ ।
त्यस्तै, सरिता गिरीले तालिमपछि नेतृत्व भनेको कुनै पार्टीको मात्र नभएर घर, टोल, समाज, राष्ट्र सबैमा उत्तिकै महत्वपूर्ण कुरा भएकाले घर चलाउने व्यक्तिले पनि सही नेतृत्व दिन सक्नुपर्ने कुरा आफूले अनभूति गरेको बताइन् ।
सहभागी अधिकांश महिलाहरूले पत्रकारितालाई विगतमा आफूहरूले हल्का रूपमा लिने गरेकोमा तालिमपछि पत्रकार र पत्रकारिताप्रति आफूहरूको दुष्टिकोण फेरिएको बताएका थिए । पत्रकारिता भनेको समाजका लागि जिम्मेवारीपूर्ण पेसा हो भन्ने कुरा आफूहरूले बुझेको उनीहरूको भनाइ थियो । उनीहरूले तालिमले आफूहरूलाई अत्यन्तै उत्साही बनाएको बताउँदै यहाँ सिकेका कुरालाई व्यावहारिक जीवनमा लागू गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

समापन समारोहलाई प्रशिक्षार्थी महिलाहरूले नै सञ्चालन गरेका थिए । कार्यक्रम सञ्चालन, स्वागत मन्तव्य तथा कार्यक्रम व्यवस्थापन प्रशिक्षार्थी महिलाहरूबाट नै गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि कोहलपुर नगरपालिका १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, विशिष्ट अतिथि सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख ऋषिराज शर्मा, कार्यक्रम आयोजक संस्थाका अध्यक्ष महेश अधिकारी, कार्यक्रम संयोजक टीकाराम रिजालले प्रशिक्षार्थी महिलाहरूलाई शुभकामना दिँदै तालिमका क्रममा आफूहरूले सिकेका कुरालाई पेसागत तथा व्यवहारिक जीवनमा लागू गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा तालिममा सहभागी महिलाहरूलाई आयोजक संस्थाका अध्यक्ष अधिकारी र डिभिजन कार्यालय प्रमुख शर्माले प्रमाणपत्र प्रदान गरेका थिए ।
६ दिने तालिममा बाँकेका पत्रकारहरू प्रियास्मृति ढकाल, राजेश आचार्य, प्रदीप वाग्ले, रूपा गहतराजलगायतले पत्रकारिता तथा उद्घोषणका विषयमा प्रशिक्षण दिएका थिए ।
