अक्षररेखा संवाददाता
बाँसगढी, २० असार
साहित्यकार सागर गैरेद्वारा लिखित नियात्रा सङ्ग्रह ‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि कालासागरसम्म’ आज कोहलपुरमा गृह विमोचन गरिएको छ । करिब तीन साताअघि काठमाडौँमा गरिएको भव्य विमोचनपछि स्थानीय साहित्यकारहरूका माझ आज कोहलपुरमा गृह विमोचन गरिएको हो ।
कोहलपुरस्थित हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न गृह विमोचन कार्यक्रममा बाँके, बर्दियाका कवि, लेखक, साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कृतिका लेखक गैरेलगायत स्थानीय साहित्यकारहरूले पुस्तकको घुम्टो उघारेर कृति विमोचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार तथा नियात्राकार भरत रानाभाटले गैरेको नियात्रा कृतिका बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए । उनले गैरेका नियात्राहरू पढेर आफू पनि गैरेले यात्रा गरेका देशहरू घुकेको अनुभूति भएको बताए । ‘नियात्राकार गैरेले जुन ठाउँमा घुमेर नियात्रा लेख्नुभएको छ ती ठाउँमा त म पुगेको छैन,’ उनले भने, ‘तर गैरेका नियात्राका माध्यमले म ती ठाउँहरूमा लेखक सँगैसँगै घुमेको अनुभूति भयो ।’ उनले आफूले पनि अमेरिका घुम्दाका आफ्ना अनुभूति नियात्राका माध्यमले सार्वजनिक गरे पनि सागर गैरेको नियात्रा संग्रह पढेपछि आफूले नियात्रामा अपनाउनुपर्ने सावधानीबारे अझै ध्यान पु¥याउन नसकेको अनुभूति भएको बताए ।
छरितो बनाउने उद्देश्यले केही फरक ढंगले आयोजित कार्यक्रममा नियात्राकार गैरेसँग अर्का कवि तथा पत्रकार वीपी अस्तुले अन्तरसंवाद गरेका थिए । संवादका क्रममा पत्रकार अस्तुले गैरेले विदेश घुम्दा सँगालेका अनुभव र अनुभूतिहरूलाई पाठकसम्म पु¥याउने जमर्को गरेका थिए ।

‘तपाईंले विदेशका जुन जुन ठाउँ घुम्नुभयो, ती देश र हाम्रो देशकाबीचमा केके विविधता वा समानता पाउनुभयो त ?’ अन्तरसंवादका क्रममा अस्तुले नियात्राकार गैरेलाई प्रश्न गरेका थिए ।
‘भौतिक विकासका दृष्टिले ती ठाउँहरू हामीभन्दा अवश्य अगाडि छन्, विकसित छन्,’ जवाफमा नियात्राकार गैरेले भने, ‘मानवीय संवेदनाका हिसाबले जहाँका मानिस भए पनि एउटै संवेदना बोकेर बाँचिरहेका हुँदारहेछन् । हामीले जस्तै उनीहरूले पनि दुःख र पीडामा आँसु झार्छन्, खुुसीमा रमाउँछन् । हो, त्यहाँका खाने कुरा फरक होलान् तर भोक संसारका सबै मानिसहरूलाई उस्तै लाग्दो रहेछ । हामीले जस्तै आफ्ना सन्तति र परिवारको माया उनीहरूलाई पनि उत्तिकै लाग्दोरहेछ… !’

यात्राले मानिसलाई धेरै कुरा सिकाउने भन्दै नियात्राकार गैरेले यात्राका क्रममा आफूले पनि धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनले आफूले देखेका र भेटेका विभिन्न भूगोल, समाज, संस्कृति र पात्रहरूका बारेका आफ्ना अनुभव सुनाएका थिए । ‘यी यात्राहरूमा मैले कहिल्यै बिर्सन नसक्ने भूगोल, संस्कृति र पात्रहरूसँग साक्षात्कार गर्न पाएँ,’ उनले भने ।
आयोजक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा.पुष्कर रिजालले सागर गैरेको नियात्रा संग्रहको लोकप्रियता यतिबेला काठमाडौँदेखि मोफसलसम्म चुलिँदै गएको बताउँदै यसको अझै उचाइ प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । उनले गैैरेको पछिल्लो नियात्रा संग्रह पठनीय मात्र नभएर संग्रहणीयसमेत रहेको बताए ।

साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका गैरे पछिल्लो समय निरन्तर साहित्यिक लेखनमा क्रियाशील छन् । गत वर्ष ‘मोहर’ नामक उपन्यास प्रकाशन गरेका गैरेको त्यसअघि नियात्रा संग्रह ‘बलैगाउँदेखि बाकुसम्म’ प्रकाशित छ । त्यसैगरी, कोरोना कालको लकडाउनको समयलाई सदुपयोग गर्दै उनले आत्मपरक निबन्धहरूको संग्रह ‘लकडाउन’ पनि प्रकाशित गरेका छन् ।
‘एउटा अल्बाट्रस…’ गैरेको चौथो साहित्यिक कृति हो । जसमा भारतको गोवा, मलेसिया, भियतनाम, फिलिपिन्स र जर्जियाको यात्राका अनुभूति समेटिएको छ ।

प्रतिष्ठानका सचिव केशव निमेषले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार नरेन्द्रजंग पिटर, साहित्यकारहरू महानन्द ढकाल, खगेन्द्र गिरी ‘कोपिला’, प्रकाश गिरी ‘निश्चल’, विष्णु पादुका, शेखर दहित, बद्री ढकाल ‘हीरामणि’, विष्णु बेल्बासे, एकराज शर्मा, कर्णबहादुर थापा, मणि गैरे, प्रकाश मरासिनी, देवकी निरौला, सुमित्रा न्यौपाने, चन्द्रावती अधिकारी, पुरमल बस्नेत, नियात्राकार गैरेकी जीवन संगिनी यशोदा गैरेसहित परिवारका सदस्यहरू तथा स्थानीय सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।





