अक्षररेखा संवाददाता
बाँसगढी, २६ साउन
बाँसगढी नगरपालिकाले गत आर्थिक वर्ष २०८२÷०८३ मा ९१ दशमलव २१ प्रतिशतले आर्थिक प्रगति हासिल गरेको छ । बाँसगढी नगरपालिकाले मंगलबार सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार गत आवमा ८८ करोड ८२ लाख २ सय अनुमानित बजेटमा ७९ करोड १० लाख ३८ हजार २ सय ९२ रुपैयाँ खर्च गरेर सो प्रगति हासिल गरेको हो ।

चालूतर्फ प्रस्तावित ३७ करोड ४५ लाख ७९ हजार रुपैयाँमा ३२ करोड ३ लाख ९९ हजार अर्थात ५४ प्रतिशत खर्च गरेको बाँसगढी नगरपालिकाले चालूतर्फ भने अनुमानित ५१ करोड ३६ लाख २३ हजारमा ४७ करोड ६ लाख ३८ हजार रुपैयाँ अर्थात ९१ प्रतिशत खर्च गरेको छ ।

वार्षिक समीक्षा कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले कर्मचारीहरूको अथक मेहेनतका कारण सो प्रगति हासिल गर्न सम्भव भएको बताए । उनले विगतमा नगरपालिकामा देखिएको बेरुजु क्रमशः घटाउँदै लगिएको दाबी पनि गरे । समीक्षा कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार आव २०८१÷०८२ मा नगरपालिकाको बेरुजु शून्य दशमलव शून्य ६१ प्रतिशत रहेको छ । महालेखा परीक्षकको कार्यालयको आव २०८२÷०८३ को प्रतिवेदन आइनसकेकाले तथ्यांकमा नदेखिए पनि आव २०८२÷०८३ मा सो रकम करिब १ करोडले घट्ने दाबी पनि नगरपालिकाले गरेको छ ।

समीक्षा कार्यक्रममा बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिको संयुक्त प्रयासबाट नै नगरपालिकाको विकास र समृद्धि सम्भव भएको बताइन् । उनले कर्मचारी, जनप्रतिनिधि र नगरबासीको साझा प्रयासबाट नै नगरको समृद्धि सम्भव भएको विचार व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले यो उपलब्धिका हासिल गर्नका लागि नगर प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सबैप्रति हार्दिक आभारसमेत प्रकट गरे ।

समीक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि तथा नगरपालिकाका ९ वटै वडाका वडासचिवहरूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय