अक्षररेखा संवाददाता
कोहलपुर, १७ साउन
कवि केशव निमेषद्वारा लिखित कविता सङ्ग्रह ‘मृत्युगञ्जको मौनता’को शनिबार कोहलपुरमा गृह विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार डा.अमर गिरी, कवयित्री निभा शाह, कृतिकार निमेष, उनका मातापिता तथा परिवारका सदस्यलगायतले सामूहिक रूपमा कविताको गृह विमोचन गरेका थिए ।

कृतिको लोकार्पणपछि बोल्दै वरिष्ठ साहित्यकार डा. अमर गिरीले कवि निमेषका कविता विचार, भाव र सौन्दर्यका दृष्टिले सशक्त गरेको विचार व्यक्त गरे । कविता लेखन सुरुवात गरेको छोटो अवधिमै निमेषले अत्यन्तै प्रभावशाली कविता सिर्जना गरेको उनले बताए ।

‘कवि निमेषले लेख्न सुरु गरेको करिब एक दशक मात्र भएछ, यो भनेको लेखनका हिसाबले छोटो अवधि हो, मैले कविता लेख्न थालेको ५० वर्ष पुगिसक्यो,’ उनले भने, ‘यो अवधिमा नै उनले अत्यन्त सुन्दर र परिपक्व कविता लेखेका छन् । उनका कुनै–कुनै कविता पढेर मलाई समेत मनमा ईष्या जाग्यो ।’

उनले कवि निमेषको सिर्जनाको क्षितिज फराकिलो भएकाले साधनाको निरन्तरताका लागि सुझाव दिए ।

त्यस्तै, कवयित्री निभा शाहले निमेषका कविताले सत्ताका विरुद्ध विद्रोह बोलेको बताइन् । एउटा कविले कविताका माध्यमले राजनीतिक तथा सामाजिक क्षेत्रमा अनेकौँ प्रश्नहरू उठाउने भन्दै शाहले निमेषका कविताले पनि सो सामथ्र्य राख्ने धारणा राखिन् । ‘निमेषका केही कविता अत्यन्तै शक्तिशाली छन्,’ उनले पनि कविलाई सुझाव दिँदै भनिन्, ‘लेखनमा निरन्तरता र अझ गहनताको खाँचो छ ।’

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यकार सागर गैरेले नेपाली साहित्यमा कोहलपुरले पनि अब विस्तारै आफ्नो ठाउँ बनाउन थालेको बताए । कोहलपुरका सर्जक र उनीहरूका सिर्जनाले अब राष्ट्रिय रूपमा पनि चर्चा पाउन थालेको उनको भनाइ थियो ।

नेपाली कविता लेखन परम्परा र कवि निमेषको कविताकृतिबारे अर्का कवि हेम मञ्जिलले वरिष्ठ कवि डा. गिरी र कवयित्री शाहसँग अन्तरसंवाद गरेका थिए ।

त्यसलगत्तै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरकै आयोजनामा भएको अर्को कार्यक्रममा सष्ट्राहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा पूर्णिमा साहित्य रत्न पुरस्कारबाट वरिष्ठ साहित्यकार डा.अमर गिरी र तुलसीराम स्मृति पुरस्कारबाट साहित्यकार शशिराम कार्कीलाई पुरस्कृत गरियो ।

वरिष्ठ कथाकार सनत रेग्मीले पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान अर्पण गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा.पुष्कर रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय