अक्षररेखा संवाददाता
बाँसगढी, ५ साउन

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयलाई लिएर अहिले देशव्यापी रूपमा प्रदर्शनहरू भइरहेका छन् । दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै पूर्वदेखि पश्चिमसम्म प्रदर्शनहरू भइरहेका हुन् ।

यसैक्रममा बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित स्वस्तिक ऐरा एकेडेमीले पनि गरिमा हत्या प्रकरणमा पीडितलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै आज बाँसगढीमा प्रदर्शन गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीसहितको टोलीले विभिन्न नारासहित बजार परिक्रमा गर्दै बाँसगढी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, लागूऔषध नियन्त्रण गर्नुपर्ने, सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थानीय पाठ्यक्रममा आधारित चेतनामूलक न्यूनीकरण सञ्चालन गर्नुपर्ने तथा शान्ति र सुरक्षाको पूर्ण प्रत्याभूति गरिनुपर्ने माग गरिएको छ ।

‘अबोध बालिका गरिमा चौधरीको हत्या गरिएको घटनाले हामी, हाम्रो समाज र सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘हाम्रा छोरीचेलीहरू आफ्नै समाजमा असुरक्षित हुनुपर्ने यो डरलाग्दो स्थितिप्रति हामी घोर भत्र्सना र कडा आपत्ति प्रकट गर्दछौँ ।’

विद्यार्थीहरूले ‘गरिमालाई न्याय देऊ’, ‘दोषीलाई कडा सजाय देऊ’, ‘हामी न्याय चाहन्छौँ’, ‘बालबालिकाको अधिकार सुरतिक्ष गर’, ‘गुड टच–ब्याड टच–नो टच’ जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर बजार परिक्रमा गरेका थिए ।

आइतबार बिहान करिब साढे ८ बजेबाट बेपत्ता भएकी गरिमाको शव घरबाट २ सय मिटर नजिकैको एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो ।

गाउँको बीचमा रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले शव रहेको स्थानमा तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो ।

घटनामा संलग्न सोही पालिका–२ का सुमन थापा र प्रोग्रेस चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । गरिमाको खोजीका लागि प्रहरीलाई समयमै सूचना दिइए पनि प्रहरीले बेवास्ता गरेका कारण बालिकाको हत्या भएको परिवारको आरोप छ ।

मृतक बालिका जीतपुर सिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले गु्रपमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय