अक्षररेखा संवाददाता
बाँसगढी, ३२ असार

बाँसगढी नगरपालिकाले विपद्का बेला आवश्यक पर्ने उद्धार सामग्री वितरण गर्ने निर्णय गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काको अध्यक्षतामा आज बसेको बैठकले नगरपालिकामा उपलब्ध विपद् सामग्रीहरू आवश्यकताअनुसार इलाका प्रहरी कार्यालय तथा वडा कार्यालयहरूमा वितरण गर्ने निर्णय गरेको हो ।

बी गु्रप नामक सामाजिक संस्थाले उपलब्ध गराएका विभिन्न प्रकारका उद्धार तथा राहत सामग्री वितरण गर्ने निर्णय गरिएको हो ।

विपद् प्रभावितहरूलाई छिटोछरितो ढंगबाट उद्धार र राहत उपलब्ध गराउन उपलब्ध विपद् तथा राहत सामग्री आवश्यकताअनुसार वितरण गर्ने निर्णय गरिएको नगर प्रमुख खड्काले बताए । यतिबेला मनसुनजन्य विपद्बाट बढी प्रभावित हुने समय भएकाले जोखिमयुक्त क्षेत्रका मानिसहरूलाई सावधानी अपनाउन आग्रह गर्दै उनले नगरपालिकाले आफ्नोतर्फबाट विपद् प्रभावितलाई उद्धार र राहत सागम्री उपलब्ध गराउँदै आएको बताए ।

चालू आर्थिक वर्षमा बी गु्रपले बाँसगढी नगरपालिकालाई १९ लाख रुपैयाँबराबरका विपद् तथा राहत सामग्री उपलब्ध गराएको थियो । बाँसगढी नगरपालिकाका विपद् फोकल पर्सन सुशीलकुमार थापाले विपद् उद्धार सामग्रीहरूको सही सदुपयोग होस् भनेर वडा तथा प्रहरी कार्यालयमा वितरण गरिएको बताए ।

चालू आवमा बी गु्रपले दुई लटमा गरेर ३१ प्रकारका विपद् सामग्री बाँसगढी नगरपालिकालाई उपलब्ध गराएको थियो । पहिलो लटमा २३ र दोस्रो लटमा ८ प्रकारका गरेर ३१ प्रकारका उद्धार तथा राहत सामग्री उपलब्ध गराएको थापाले जानकारी दिए । बी गु्रपले उपलब्ध गराएका उद्धार सामग्रीहरूमा लाइफ ज्याकेट, सेफ्टी हेल्मेट, स्ट्रेचर, फस्र्ट एड बक्स, पिक, साबेल, सेफ्टी बेल्ट, त्रिपाल, फायर डिस्ट्रिङ्गरलगायत रहेका छन् । साथै बी गु्रपकै सहयोगमा बाँसगढी नगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी तालिमसमेत सञ्चालन गर्दै आएको फोकल पर्सन थापाले बताए । उनले चालू आवमा बाँसगढी नगरपालिकाले ५७ जना विपद् प्रभावितहरूलाई नगद राहत उपलब्ध गराएको समेत जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय