अक्षररेखा संवाददाता
बर्दिया, ८ जेठ
बाँसगढी उद्योग बाणिज्य संघले विद्युत आपूर्ति सेवामा देखिँदै आएको समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । बिहीबार अध्यक्ष बद्री बरालसहितको उद्योगी व्यापारीहरूको टोलीले बर्दियाका प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै केही दिनदेखि बर्दिया जिल्लामा देखिँदै आएको विद्युत आपूर्ति समस्या समाधान गर्न आग्रह गरेको हो ।

केही दिनदेखि बर्दियामा विद्युत सेवा अनियमित हुने, लाइन काटिइरहने र आए पनि अत्यन्त लो भोल्टेजका कारण समस्या हुने गरेको विज्ञप्तिमा जनाइएको छ । विद्युत सेवा अनियमित हुँदा यहाँ रहेका उद्योगी, व्यवसायी तथा सर्वसाधारणसमेत मर्कामा परेको विज्ञप्तिमा उल्लेख छ ।

‘केही समययता जिल्लाभर विद्युत बारम्बार आउने–जाने, अनियमित रूपमा लाइन अवरुद्ध हुने तथा अत्यधिक लो भोल्टेजको समस्या बढ्दै गएको छ,’ संघद्वारा बुझाइएको विज्ञप्तिमा भनिएको छ, ‘जसका कारण उद्योग कलकारखाना, साना तथा मझौला व्यवसाय क्षेत्र र आम उपभोक्ता प्रभावित भइरहेका छन् ।’

संघले विद्युत आपूर्तिमा देखिएको समस्याका कारण विद्युतीय उपकरणमा क्षति पुग्ने, उत्पादन तथा सेवा प्रवाह अवरुद्ध हुने, व्यवसाय सञ्चालनमा लागत बढ्ने तथा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ ।

बर्दिया जिल्लाको विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक प्राविधिक सुधार, ट्रान्फर्मर तथा लाइन क्षमता विस्तार, लो भोल्टेज नियन्त्रण तथा वैकल्पिक व्यवस्थापनका प्रभावकारी उपाय अवलम्बन गर्न मन्त्रालयसँग माग गरिएको छ ।

साथै बाँसगढी नगरपालिका–८ मा निर्माणाधीन विद्युत सब–स्टेसनको काममा तीव्रता दिन पनि संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय