अक्षररेखा संवाददाता
बाँसगढी, २९ जेठ
बाँसगढी नगरपालिकाले निर्माण गर्न लागेको जैविक मल कारखानाको भौतिक संरचना निर्माणको काम सम्पन्न भएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ४ मदाहास्थित रिउ खोला किनारमा कारखाना निर्माण गर्न लागिएको हो, जहाँ बाँसगढी नगरपालिकाले यस अघिदेखि नै गौशालासमेत सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले आफ्नो गौरवको आयोजनाअन्तर्गत जैविक मल कारखाना सञ्चालन गर्न लागेको बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले बताए । ‘यो नगरकै गौरवको आयोजना हो,’ नगर प्रमुख खड्काले भने, ‘यहाँका किसानलाई अग्र्यानिक उत्पादनतर्फ आकर्षित गर्न र कृषि उत्पादन वृद्धि गर्न जैविक मल कारखानाले सहयोग गर्नेछ ।’

नवप्रवर्तनअन्तर्गत लुम्बिनी प्रदेश सरकारको १ करोड रुपैयाँ ससर्त अनुदान र बाँसगढी नगरपालिकाको करिब ३ करोड रुपैयाँको लागतमा भौतिक संरचना निर्माण सम्पन्न भएको बाँसगढी नगरपालिकाका इन्जिनियर बलराम पौडेलले जानकारी दिए ।

जैविक मल उत्पादनका लागि मेसिन जडान गर्ने मुख्य भवन, मलका लागि आवश्यक पर्ने कच्चा पदार्थ भण्डारण गर्ने भवन, गाईका लागि चारा उत्पादन र भण्डारण गर्ने भवन र गाईबस्तुको बासस्थानका लागि आधुनिक गोठसहितका भौतिक संरचना निर्माण गरिएका छन् । भौतिक संरचना निर्माणको जिम्मा गोरखनाथ रेग्मी जेभीले पाएको थियो ।

‘जैविक मल उत्पादन गर्ने मात्र नभएर यो बहुउद्देश्यीय परियोजना भएकाले सबैका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण गरिएको हो,’ इन्जिनियर पौडेलले भने, ‘मेसिन जडान, गाईगोठ, कच्चा पदार्थ भण्डारण र चारा उत्पादनका लागि छुट्टाछुट्टै संरचना निर्माण गरिएको छ ।’ अनुमानित लागतभन्दा करिब १६ लाख रुपैयाँ कममा निर्माण सम्पन्न भएको इन्जिनियर पौडेलले बताए ।

भौतिक संरचना निर्माण सम्पन्न भएसँगै नगरपालिकाले मेसिन खरिद र जडानको कामलाई तीव्रता दिएको छ । केही दिनभित्रै मेसिन खरिदका लागि टेन्डर आह्वान गरिने र जडानको काम अघि बढाइने बाँसगढी नगर कृषि शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिए । मेसिन खरिद र जडानका लागि नगरपालिकाले ६५ लाख रुपैयाँ छुट्याएको छ ।

मेसिन खरिद र जडानका लागि मेकानिकल इन्जिनियरसँग परामर्श भइरहेको उनले बताए । ‘मेकानिकल पार्टमा बाँसगढीकै मेकानिकल इन्जिनियर सुशील अधिकारीले हामीलाई सहयोग गरिरहनुभएको छ,’ खड्काले भने, ‘उहाँकै परामर्श र सहयोगमा मेसिन खरिद र जडानको काम अघि बढिरहेको छ ।’

जापनिज प्रविधिको उच्चस्तरीय मेसिन जडान गर्ने योजना नगरपालिकाको रहेको मेकानिकल इन्जिनियर सुशील अधिकारीले बताए । ‘हामी मेसिन खरिदबारे अहिले छलफलकै चरणमा छौँ,’ इन्जिनियर अधिकारीले भने, ‘मेसिन खरिदलगत्तै जडानको काम हुन्छ ।’ कारखानाबाट दैनिक ५ टन जैविक मल उत्पादन हुने अनुमान गरिएको छ ।

जैविक मल बनाउन आवश्यक पर्ने कच्चा पदार्थमा मुख्य गरेर गोबर मल, वनका पातपतकर र कुहिनेखालका घरायासी फोहोरलगायत हुन् । जसको स्थानीयस्तरबाट सहजै आपूर्ति गर्न सकिने नगरपालिकाको भनाइ छ । गौशालामा हाल १६५ वटा गाई पालिएका छन् । आवश्यक परे गाईको संख्या वृद्धि गरेर कारखानाका लागि आवश्यक पर्ने गोबर मल उत्पादन गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाभित्र संकलन गरिने कुहिनेखालका फोेहोरलाई पनि कच्चा पर्दाथका रूपमा उपयोग गरिने नगरपालिकाले जनाएको छ ।

नेपाली किसानले मलको अभाव झेलिरहेका बेला बाँसगढीमा निर्माण हुन लागेको जैविक मल कारखानाले यस क्षेत्रका किसानलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय