अक्षररेखा संवाददाता
बर्दिया, २ असार
कोहलपुरमा बसेर साहित्यका बहुविधामा कलम चलाइरहेका साहित्यकार सागर गैरेको पछिल्लो नियात्राकृति ‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि काला सागरसम्म’ काठमाडौँमा लोकार्पण भएको छ । एक विशेष समारोहमा नियात्रा लेखनका हस्तीहरूबीच गैरेको नियात्रा संग्रहको सामूहिक लोकार्पण गरिएको हो ।
माया पब्लिकेसन्सद्वारा आयोजित कार्यक्रममा साहित्यकार, नियात्राकार, पत्रकार तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुस्तकका लेखक सागर गैरेले आफूले विभिन्न देशहरूको भ्रमणका क्रममा देखेका समाज, संस्कृति, इतिहास, प्रकृति र मानवीय अनुभूतिहरूलाई नियात्राको स्वरूपमा पुस्तकमा प्रस्तुत गरेको बताए । ‘यात्रा भनेको भौगोलिक दूरी पार गर्नु मात्रै नभई आत्मअन्वेषण, संस्कृतिको अध्ययन र विश्वलाई बुझ्ने माध्यम पनि रहेछ,’ नियात्राकार गैरेले भने, ‘यिनै कुराहरूलाई अनुभूति गरेर नै मैले यो पुस्तक लेख्न सकेको हुँ ।’

नियात्राकार युवराज नयाँघरेले पुस्तकले नेपाली नियात्रा साहित्यमा नयाँ ऊर्जा थपेको बताए । उनले सागर गैरेले यात्रा गरेका स्थानहरूको भौगोलिक विवरण मात्र नदिएर ती स्थानका मानिस, संस्कार, जीवनशैली र सभ्यताको अन्तध्र्वनिलाई पनि समेटेको विचार व्यक्त गरे ।
यात्राको क्रममा भेटिएका दृश्यहरूलाई सामाजिक र सांस्कृतिक चेतनासँग जोडेर व्याख्या गरिएको उनको कथन थियो । ‘नियात्राको मूल शक्ति लेखकको अवलोकन क्षमता र संवेदनशीलता हो,’ नियात्राकार नयाँघरेले भने, ‘जुन सागर गैरेको पुस्तकभरि प्रष्ट देखिन्छ ।’
अर्का नियात्राकार तथा लेखक प्रतीक ढकालले पुस्तकलाई विश्वलाई नेपाली दृष्टिकोणबाट बुझ्ने प्रयासका रूपमा व्याख्या गरे । ढकालले नियात्रामा तथ्य, अनुभूति र साहित्यिक सौन्दर्यको सन्तुलन आवश्यक हुने उल्लेख गर्दै गैरेको कृतिमा ती तीनै पक्षको सन्तुलित उपस्थिति रहेको बताए । ‘यो पुस्तकले युवा पुस्तामा अध्ययन, अनुसन्धान र यात्राप्रतिको रुचि बढाउने विश्वास लिन सकिन्छ,’ ढकालको भनाइ थियो ।

त्यस्तै, साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले पुस्तकलाई विभिन्न देशका भूगोलभित्र मानव सभ्यताको विकासक्रम खोज्ने कृतिका रूपमा चित्रण गरे । उनले लेखकले भ्रमण गरेका स्थानहरूलाई केवल मनोरञ्जनको विषय मात्र नबनाई त्यहाँको इतिहास, राजनीतिक परिवेश, सांस्कृतिक विविधता र सामाजिक संरचनासमेत समेटेको बताए ।
‘नियात्रा साहित्यले पाठकलाई घरमै बसेर संसार चिन्न सक्ने अवसर प्रदान गर्छ,’ पुडासैनीले भने, ‘यस कृतिले त्यो भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गरेको छ ।’
नियात्राकार जय छाङ्छाले पुस्तकको भाषाशैली, प्रस्तुतीकरण र दृश्यात्मक वर्णनको खुलेर प्रशंसा गरे । लेखकले देखेका दृश्यहरूलाई शब्दमार्फत जीवन्त बनाउन सफल भएको उनको भनाइ थियो ।
‘पुस्तक पढ्दा पाठक आफैँ मलेसियाका सडक, भियतनामका ऐतिहासिक स्थल, गोवाका समुद्री तट, फिलिपिन्सका टापुहरू र जर्जियाका सांस्कृतिक सहरहरूमा पुगेको अनुभूति गर्न पाउँछ,’ छाङ्छाको भनाइ थियो, ‘नियात्रामा साहित्यिक सौन्दर्य र तथ्यात्मक विश्वसनीयता दुवै पक्ष बलियो देखिन्छ ।’
त्यसैगरी, साहित्यकार तथा नियात्राकार भवानी खतिवडाले पुस्तकले विश्व नागरिकताको चेतना विस्तार गरेको धारणा राखिन् । उनले सीमित भूगोलमा केन्द्रित सोचलाई फराकिलो बनाउँदै विभिन्न संस्कृति, भाषा र जीवनपद्धतिप्रति सम्मान जगाउने क्षमता पुस्तकमा रहेको बताइन् । ‘यात्रा साहित्यले मानव र समाजबीचको दूरी घटाउने काम गर्छ,’ खतिवडाले भनिन्, ‘सागर गैरेको कृतिले पनि यही उद्देश्यलाई सार्थक रूपमा प्रस्तुत गरेको छ ।’

कार्यक्रमका वक्ताहरूले ‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि काला सागरसम्म’ नियात्रा कृतिलाई साहित्य, यात्रा र संस्कृतिको अन्तर्सम्बन्धलाई उजागर गर्ने कृतिका रूपमा व्याख्या गरेका थिए ।
उनीहरूले कोहलपुर जस्तो मोफसलमा बसेर निरन्तर साहित्य साधनामा सक्रिय सागर गैरेले नेपाली नियात्रा साहित्यमा महत्वपूर्ण योगदान पु¥याउँदै गएको उल्लेख गरेका थिए ।
राजधानीकेन्द्रित साहित्यिक अभ्यासको परम्पराबीच मोफसलबाट सिर्जना गरिएको यस्तो कृतिले नेपाली साहित्यको भौगोलिक दायरा विस्तार गरेको धारणा उनीहरूको थियो ।
‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि काला सागरसम्म’ यात्रा संस्मरण नभई विश्वका विविध समाज, संस्कृति र मानवीय अनुभूतिहरूलाई नेपाली भाषामा अभिलेखीकरण गर्ने महत्वपूर्ण साहित्यिक कृति भएकाले सो कृतिलाई त्यही रूपमा मूल्यांकन गर्नुपर्ने उनीहरूको साझा निष्कर्ष थियो ।
गैरेको यो कृतिमा मलेसिया, भियतनाम, भारतको गोवा, फिलिपिन्स र जर्जिया भ्रमणका अनुभवहरू समेटिएका छन् । पुस्तकमा प्रशान्त महासागरका किनारादेखि युरोप–एसियाको संगम क्षेत्र मानिने कालासागर आसपासका भूभागको यात्रालाई संवेदनशील र कलात्मक ढंगले प्रस्तुत गरिएका छन् । पुस्तकमा समेटिएका पाँच देशका अनुभवहरूले पाठकलाई फरक–फरक सभ्यता र जीवनशैलीसँग परिचित गराउँछन् ।
माया पब्लिकेसन्सका प्रबन्ध निर्देशक विनय दत्त सभापतित्व गरेको कार्यक्रमको सञ्चालन कवि तथा पत्रकार नवीन अभिलाषीले गरेका थिए ।





