अक्षररेखा संवाददाता
बर्दिया, ३ असार

बाँकेको कोहलपुरमा बसेर साहित्य सिर्जनामा तल्लीन तीन स्रष्टाका तीन कृति यतिबेला साहित्यिक बजारमा निकै चर्चामा छन् । विभिन्न सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरूमा ती पुस्तकहरूले पाठकबाट वाहवाही बटुलिरहेका छन् । साँच्चै भन्ने हो भने यतिबेला कोहलपुरका यी तीन कृतिहरू देशदेशाटनमा निस्किएका छन् ।

कोहलपुरमा बसेर पत्रकारिता तथा साहित्यका विभिन्न विधामा कलम चलाइरहेका नवीन अभिलाषीको कथा सङ्ग्रह ‘दहाड’, कोहलपुरमै व्यवसायका साथसाथै साहित्य सिर्जनामा रमिरहेका सागर गैरेको नियात्रा सङ्ग्रह ‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि काला सागरसम्म’ र कोलहपुरलाई नै कर्मथलो बनाएर व्यवसाय तथा सिर्जनामा तल्लीन केशव निमेषको कविता सङ्ग्रह ‘मृत्युगन्जको मौनता’ सँगसँगैजसो प्रकाशित भएका हुन् । यी कृतिहरूले कोहलपुरको साहित्यमा उचाइ थप्ने काम गरिरहेको धेरैको बुझाइ छ ।

गैरेको नियात्रा सङ्ग्रह ‘एउटा अल्बाट्रस…’ र अभिलाषीको कथा सङ्ग्रह ‘दहाड’को प्रकाशत मिति २०८२ साल र निमेषको कविता सङ्ग्रह ‘मृत्युगन्जको मौनता’को प्रकाशन मिति २०८३ साल भए पनि यी सबै कृतिहरू लगभग एकै समयमा बजारमा आएका हुन् । फरक विधाका यी तीन कृतिले नेपाली साहित्य जगत्मा राम्रै चर्चा पनि पाइरहेका छन् ।

निमेषको पहिलो कृति भए पनि अभिलाषी र गैरेका भने यसअघि पनि विभिन्न विधाका पुस्तक प्रकाशित भइसकेका छन् । अभिलाषीले यसअघि दुई कविताकृति प्रकाशित गरिसकेका छन् भने गैरेले निबन्ध, नियात्रा र उपान्यास गरेर यसअघि नै तीन कृति सार्वजनिक गरिसकेका छन् । गैरेको यो चौथो कृति हो ।

साहित्यका अध्येता तथा पाठकहरूका सकारात्मक प्रतिक्रियाले आफूहरूलाई निकै हौसला मिलिरहेको तिनै स्रष्टाहरूको भनाइ छ ।

‘अब मलाई विस्तारै डर लाग्न थालेको छ,’ आफ्ना कथाहरूबारे पाठक प्रतिक्रियाहरू पाइरहँदा कथाकार अभिलाषी भन्छन्, ‘सोचेभन्दा बढी, खोजेभन्दा धेरै मैले पाइरहेछु । थुप्रै–थुप्रै प्रतिक्रियाले म नतमस्तक छु । असल पाठक पाउनु एउटा लेखकका लागि निकै महत्वको विषय रहेछ । म कस्तो लेखक हुँ भन्ने कुराको जानकारी एउटा पाठकले पो दिने रहेछ ।’

गैरे पनि पछिल्लो कृतिका लागि आफूले पाठक तथा शुभेच्छुकबाट पाएको सकारात्मक प्रतिक्रियाले पुलकित छन् । ‘पेशाले म एउटा व्यवसायी हुँ । दिनभरिको व्यापारिक व्यस्तता हुन्छ,’ गैरे भन्छन्, ‘तर जब मलाई मानिसहरूले व्यवसायीभन्दा पनि पत्रकार वा लेखक भनेर चिन्छन् । यसरी चिन्नु र आदर गर्नुमा जुन आनन्द छ, त्यसको तुलना अरू थोकसँग हुनै सक्दैन ।’

नेपाली साहित्यमा कोहलपुरकाबाट प्रकाशित यी तीन पुस्तकले सशक्त हस्तक्षेप गर्ने अपेक्षा गरेको अर्का साहित्यकार महानन्द ढकालको भनाइ छ । ‘यी कृतिहरूले यतिबेला नेपाली साहित्यको बजार तताइरहेका छन्,’ ढकाल भन्छन्, ‘फरक–फरक विधामा लेखिएका यी कृतिहरूले राम्रै उचाइ हासिल गर्न सक्ने मेरो अनुमान छ ।’

पहिलो पुस्तक भए पनि निमेष आफ्ना कविताहरूमार्फत परिपक्व कविका रूपमा उदाएको कोहलपुरका अर्का कवि तथा साहित्यकार विष्णु पादुकाको बुझाइ छ । ‘पहिलो कृतिमै निमेषजी निकै परिपक्व कविका रूपमा उदाउनुभएको छ,’ पादुका भन्छन्, ‘निमेषजीका कविताको वैचारिक धरातल मजबुत देखिन्छ ।’

कोहलपुरबाट प्रकाशित यी तीनै कृतिले नेपाली साहित्यमा राम्रै प्रभाव छोड्न सक्ने पादुकाको विश्लेषण छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय