अक्षररेखा संवाददाता
बाँसगढी, १५ असार
आज १५ असार अर्थात २३औँ राष्ट्रिय धान दिवस । राष्ट्रिय धान दिवस आज विभिन्न कार्यक्रम गरेर देशव्यापी रूपमा मनाइएको छ ।
बाँसगढी नगरपालिकाले पनि २३औँ राष्ट्रिय धान दिवसका अवसरमा किसानको खेतमा रोपाइँ गरेर र सहभागीहरूलाई दही चिउरा खुवाएर मनाएको छ । आज बिहानै बाँसगढी नगरपालिका–६ सटेरियाका किसान चुलवा थारूको खेतमा रोपाइँ गरेर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।

राष्ट्रिय धान दिवसका अवसरमा यसपटक ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारा तय गरिएको छ ।
धान नेपालको प्रमुख खाद्य बाली भएकाले यसमा आत्मनिर्भर नभएसम्म देशमा समृद्धि हासिल नहुने भन्दै बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले जलवायुमैत्री प्रविधिको प्रयोग गरेर धान उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए । ‘यसपटक तय गरिएको नारा नै अत्यन्त सान्दर्भिक छ,’ उनले भने, ‘जलवायु परिवर्तनका असरहरू यत्रतत्र देखिइरहेका बेला जलवायुमैत्री प्रविधि प्रयोगमा जोड दिइनु समयानुकूल छ ।’

धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै उनले असार भनेको किसानका लागि मानो रोपेर मुरी उब्जाउने समय भएकाले किसानले आफ्नो उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा नगर प्रमुख खड्काले खेतका गरा हिल्याउँदै रोपाइँको सुरुवात गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख इन्दिरा चौधरी, बाँसगढी नगरपालिका ५, ६, ८ र ९ नम्बरका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीहरू, बाँसगढीमा अवस्थित विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो । करिब ५० जनाभन्दा बढी सहभागीहरूले असारे गीत गाउँदै धान रोपाइँ गरेका थिए । नगर प्रमुख खड्का स्वयम् गरा हिल्याउने र रोपाइँ गर्ने काममा सक्रिय रूपमा सहभागी भएका थिए ।

बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा दमौली सहकारी संस्थाले कार्यक्रमको आयोजना गरेको थियो । करिब ३ कठ्ठामा रोपाइँ सकेपछि आयोजकले सहभागीहरूलाई दही चिउरा खुवाएको थियो ।





