अक्षररेखा संवाददाता
बाँसगढी, १८ असार

साहित्यकार सागर गैरेद्वारा लिखित नियात्रा सङ्ग्रह ‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि कालासागरसम्म’को यही असार २० गते शनिबार कोहलपुरमा गृहविमोचन हुँदैछ । यसअघि जेठ २८ गते काठमाडौँमा एक भव्य कार्यक्रमका बीच सो पुस्तक विमोचन गरिएको थियो ।

प्रकाशन संस्था माया पब्लिकेसनका तर्फबाट काठमाडौँमा विमोचन गरिए पनि स्थानीय लेखक साहित्यकारहरूको चाहनालाई ध्यानमा राखेर कोहलपुरमा पुनः गृहविमोचन गर्न लागिएको कृतिकार सागर गैरेले जानकारी दिए । कोहलपुरस्थित हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा बागेश्वरी क्याम्पसको सभाहलमा पुस्तकको गृहविमोचन गर्न लागिएको हो ।

काठमाडौँमा कृति विमोचनका क्रममा प्रतिष्ठित नियात्राकारहरूले सो कृतिको खुलेर प्रशंसा गरेका थिए । नियात्राकारहरू प्रतीक ढकाल, जय छाङ्छा, युवराज नयाँघरे, दामोदर पुडासैनी, भवानी खतिवडालगायतले कोहलपुर जस्तो मोफसलबाट सिर्जना भएको यो कृतिले नेपाली साहित्यको भौगोलिक दायरा विस्तार गर्नुका साथै युवा पुस्तामा अध्ययन, अनुसन्धान र यात्राप्रतिको रुचि बढाउने विश्वास व्यक्त गरेका थिए । विभिन्न देशका समाज, संस्कृति र जीवनशैलीलाई नेपाली भाषामा अभिलेखीकरण गरिएका कारण कृतिलाई महत्वपूर्ण साहित्यिक दस्तावेजका रूपमा हेर्न सकिने उनीहरूको भनाइ थियो । उनीहरूले नियात्रा लेखनमा हुनुपर्ने सम्पूर्ण तत्वहरू गैरेको नियात्रा संग्रहमा भेटिने भन्दै सागरका नियात्राहरूले पाठकलाई लेखक सँगसँगै यात्रा गराउन सफल रहेको बताएका थिए ।

गृह विमोचनमा नेपालगन्जका नियात्राकार भरतबहादुर रानाभाटले सो कृतिका बारेमा मिहीन समीक्षा गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, अर्का कवि तथा पत्रकार वीपी अस्तुले लेखक गैरेसँग साहित्यिक संवाद गर्नेछन् । जसमा कृतिको रचना गर्भ, यात्राका अनुभूतिहरू तथा कृति सार्वजनिक भएपछिका लेखकका अनुभवहरूलाई समेटिने जनाइएको छ ।

कोहलपुरमै बसेर साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका गैरेले पछिल्लो समय निरन्तर साहित्यिक लेखनमा क्रियाशील छन् । गत वर्ष मात्र ‘मोहर’ नामक उपन्यास प्रकाशन गरेका गैरेले त्यसअघि नियात्रा संग्रह ‘बलैगाउँदेखि बाकुसम्म’ प्रकाशित गरेका थिए । त्यस्तै, कोरोना कहरलाई समेटेर तयार पारिएको उनको पहिलो निबन्ध संग्रह ‘लकडाउन’ पनि प्रकाशित छ ।

‘एउटा अल्बाट्रस…’ गैरेको चौथो साहित्यिक कृति हो । जसमा भारतको गोवा, मलेसिया, भियतनाम, फिलिपिन्स र जर्जियाको यात्राका अनुभूति समेटिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय