अक्षररेखा संवाददाता
बाँसगढी, ४ असोज
बाँसगढी नगरपालिका वडा नम्बर ९ ले भोटेकोशी बाढीपीडितका लागि संकलित राहत वडाबाटै व्यवस्थापन गर्ने निर्णय गरेको छ । शनिबार वडामा आयोजित सर्वदलीय तथा सर्वपक्षीय भेलाले वडामा संकलित खाद्यान्न वडामै बिक्रीवितरण गरी एकमुष्ठ नगद प्रधानमन्त्री राहत कोषमा पठाउने निर्र्णय गरेको हो ।

बाढीप्रभावित क्षेत्रमा खाद्यान्न पठाउन समस्या पर्ने देखिएकाले सो खाद्यान्न स्थानीय स्तरमै बिक्रीवितरण गरी एकमुष्ठ नगद प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको वडाध्यक्ष चन्द्रबहादर शाहीले जानकारी दिए । पारदर्शिता होस् र भोलि कुनै विवाद नआओस् भनेर सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना गरिएको उनले बताए । ‘ढुवानी, भण्डारणलगायतका समस्याका कारण बाढीप्रभावित क्षेत्रमा खाद्यान्न पु¥याउन गाह्रो हुने देखियो,’ वडाध्यक्ष शाहीले भने, ‘त्यसैले सर्वदलीय तथा सर्वपक्षीय भेलाको निर्णयअनुसार सो खाद्यान्न बेचेर नगदै प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय भएको हो ।’

सोका लागि वडाध्यक्ष शाहीको नेतृत्वमा २४ सदस्यीय राहत व्यवस्थापन समितिसमेत निर्माण गरिएको छ । जसमा वडाका जनप्रतिनिधि, प्रमुख दलका प्रतिनिधि, बडघर संस्थाका प्रतिनिधिलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरू सदस्य रहेका छन् ।

वडाध्यक्ष शाहीले आफ्नो वडामा सो बाढीबाट तीन जना व्यक्ति प्रभावित भएको जानकारी दिँदै उनीहरूकोे आवश्यकताका आधारमा समितिको निर्णयअनुसार संकलित राहतबाटै उनीहरूलाई समेत राहत प्रदान गर्न सकिने बताए ।

वडाअध्यक्ष शाहीकै नेतृत्वमा वडाले १ लाख ४८ हजार ३ सय ७० रुपैयाँ नगद तथा खाद्यान्न संकलन गरेको छ । जसमा चामल ३९ क्वीन्टल, गहुँ १ सय १६ किलो, धान ४ किलो, दाल १४ किलो २ सय ग्राम, लसुन १ किलो तथा नुन ४ पोका संकलन भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय