अक्षररेखा संवाददाता
बाँसगढी, ६ असोज
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीमा परी बर्दिया जिल्लाका ७६ जना बेपत्ता भएका छन् । बर्दियाका ३३ जना सम्पर्कमा आए पनि ७६ जना भने हालसम्म सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । २ जना भने काठमाडौँमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा सबैभन्दा बढी बारबर्दिया नगरपालिकाका २४ जना रहेका छन् । त्यसैगरी, गेरुवा गाउँपालिकाका १४, ठाकुरबाबा नगरपालिकाका १२, बाँसगढी नगरपालिकाका १२, गुलरिया नगरपालिकाका २ र मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका १–१ जना बेपत्ता छन् । रसुवा बाढीमा बेपत्ता हुनेमा धेरैजसो थारू समुदायका व्यक्ति छन् भने धेरैजसो एउटै वडाका बढी छन् ।
बाँसगढीका ३ जनालाई भने नगरपालिकाकै टोलीले सकुशल उद्धार गरेर ल्याएको छ । करिब चार सातासम्म पनि सम्पर्कमा नआएपछि बाँसगढी नगरपालिकाभित्रका बेपत्ता नागरिकका परिवारले उनीहरूको अन्तिम संस्कार सुरु गरेको बाँसगढी नगरपालिकाका विपत् फोकल पर्सन सुशील थापाले जानकारी दिए ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार सो बाढीबाट हालसम्म १ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ भने ५ हजार ७ सय ४५ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा ६ सय ३६ जना विदेशी नागरिकसमेत छन् । मृत्यु हुनेमा ३ सय ३६ जना महिला, ५ सय ८५ जना पुरुष र ५ सय ३० जना लिङ्ग पहिचान हुन नसकेका छन् ।
हालसम्म १३ हजार ७ सय ८४ जनाको जीवितै उद्धार गरिएकोमा ४ जनाको उपचारका क्रममा मृत्युु भएको प्राधिकरणले आफ्नो वेवसाइटमार्फत जनाएको छ । उद्धार गरिएकामध्ये १२ जना अझै विभिन्न अस्पतालहरूमा उपचाररत रहेका छन् ।
रसुुवा जिल्लाका ९ वटा होल्डिङ सेन्टरमा ७ सय ८८ जना, धाादिङका ४ वटा होल्डिङ सेन्टरमा १ सय २१ जना र नुुवाकोटका ८ वटा होल्डिङ सेन्टरमा ३ सय ६ जनासहित १ हजार २ सय १५ जना प्रभाावितहरूले आश्रय लिइरहेको जनाइएको छ ।







