जीवनमा केही यस्ता घटनाहरू हुन्छन्, जसले समय बित्दै जाँदा पनि आफ्नो प्रभाव कहिल्यै हराउँदैनन् । ती घटना केवल सम्झना बनेर बस्दैनन्, बरु जीवनको मार्गदर्शक बन्छन् । मेरो जीवनमा पनि यस्तै एउटा अविस्मरणीय घटना घट्यो, जसले प्रकृति, वन्यजन्तु र विशेष गरी बाघप्रतिको मेरो दृष्टिकोण पूर्ण रूपमा परिवर्तन गरिदियो । यही घटनाले मलाई संरक्षण पत्रकारितातर्फ डो¥यायो । आज म वन्यजन्तु संरक्षण, जैविक विविधता, राष्ट्रिय निकुञ्ज, वातावरण संरक्षण तथा मानव–वन्यजन्तु सहअस्तित्वका विषयमा कलम चलाइरहेको छु भने त्यसको आधार यही वास्तविक अनुभव हो ।

यो घटना बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रनजिक भएको हो । म कपिलवस्तुको चन्द्रौटास्थित मामाघरबाट मोटरसाइकलमा कोहलपुर फर्किंदै थिएँ । मौसम सफा थियो । सडकमा सवारीको चाप पनि धेरै थिएन । समय दिउँसो १२ः३५ तिरको हो । कुसुमबाट करिब सात किलोमिटर तथा गाभरबाट करिब एक किलोमिटर पूर्व, कुसुम जाने हाइवेमा म बाइकमा रफ्तारमा कुदेको थिएँ । ठिक त्यसै समय मैले कल्पना नै नगरेको दृश्य मेरो अगाडि देखा प¥यो ।

जंगलको किनारबाट एउटा वयस्क पाटेबाघ अचानक सडकमा फुत्त ओर्लियो । ऊ जंगलबाट सडकतर्फ आयो र अर्को वन क्षेत्रमा जानका लागि सडक पार गर्न खोजिरहेको रहेछ । मैले मोटरसाइकलको गति तुरुन्तै कम गरेँ र रोकिएँ । त्यो क्षण मेरो जीवनको सबैभन्दा रोमाञ्चक, संवेदनशील र शिक्षाप्रद क्षण बन्न पुग्यो । मलाई डर भन्ने चिज कत्ति पनि लागेन ।

बाघले पनि आफ्नो गति रोक्यो र सडकमै मेरो बाइको नजिकै बस्यो । अनि उसले आफ्नो टाउको उठाएर सिधै मतर्फ हे¥यो । मैले पनि उसको आँखामा आँखा जुधाएँ । हामी दुवै केही क्षणसम्म एक–अर्कालाई नियालिरहेका थियौँ । त्यहाँ कुनै शब्द थिएन, तर एउटा मौन संवाद चलिरहेको अनुभूति भइरहेको थियो ।

धेरै मानिसले यस्तो अवस्थामा आत्तिएर भाग्न खोज्छन्, हर्न बजाउँछन् वा ठूलो आवाज निकाल्छन् । तर मैले त्यसो गरिनँ । मैले मोटरसाइकल बन्द गरिनँ, न त स्टार्ट बढाएँ । म शान्त भएर मोटरसाइकलमै बसिरहेँ । मेरो मनमा डरभन्दा बढी जिज्ञासा थियो, रोमाञ्चकता थियो । मैले बाघको हरेक चाल, हरेक हाउभाउ र हरेक प्रतिक्रिया ध्यानपूर्वक हेरिरहेको थिएँ ।

केही समयपछि बाघले हल्का गर्जन ग¥यो । त्यो गर्जन सुन्दा सामान्य मानिस डराउन सक्छ । तर मैले त्यो आवाजलाई आक्रमणको संकेतभन्दा पनि सावधानीको चेतावनीका रूपमा महसुस गरेँ । सायद उसले मेरो उपस्थिति स्वीकार गरिरहेको थियो र आफ्नो सुरक्षा सुनिश्चित गर्न खोजिरहेको थियो । मैले कुनै प्रतिक्रिया जनाइनँ । म स्थिर बसिरहेँ ।
बाघ केही कदम अघि बढ्यो । ऊ मेरो मोटरसाइकलको नजिकसम्म आयो । त्यतिबेला मेरो र बाघबीचको दूरी निकै कम थियो । उसले फेरि एकपटक आवाज निकाल्यो । त्यो क्षण मेरो जीवनकै सबैभन्दा रोमाञ्चक क्षण थियो । तर अचम्मको कुरा के थियो भने, मैले आफूलाई आतंकित महसुस गरिनँ । मलाई लाग्यो, बाघ मलाई आक्रमण गर्न होइन, मेरो व्यवहार बुझ्न आएको हो ।

मैले कुनै हलचल गरिनँ । मेरो हात ह्यान्डलमै थियो । मेरो नजर बाघतिर नै थियो । मैले न फोटो खिच्ने प्रयास गरेँ, न भिडियो बनाउन खोजेँ । त्यो क्षणलाई मैले केवल महसुस गरिरहेको थिएँ । प्रकृतिले मलाई एउटा दुर्लभ अवसर दिएको थियो, र म त्यसलाई सम्मानका साथ अनुभव गरिरहेको थिएँ ।

केहीबेरपछि बाघले सडकको छेउमा रहेको एउटा ढिस्कोतर्फ फड्को मा¥यो । माथि पुगेपछि फेरि उसले आवाज निकाल्यो । त्यो आवाजमा पनि मलाई आक्रामकताभन्दा सतर्कता बढी महसुस भयो । म अझै पनि त्यहीँ स्थिर थिएँ । मेरो शान्त व्यवहारले पनि सायद बाघलाई विश्वस्त बनाएको थियो कि म उसका लागि कुनै खतरा होइन ।

करिब नौ मिनेटसम्म यो मौन अन्तरसंवाद चलिरह्यो । अन्ततः बाघले बिस्तारै आफ्नो बाटो समात्यो र जंगलभित्र हरायो । उसले आफ्नो प्राकृतिक यात्रा जारी राख्यो, अनि मैले आफ्नो जीवनको नयाँ यात्रा सुरु गर्ने प्रेरणा पाएँ ।

बाघ जंगलभित्र हराएपछि पनि म केही समय त्यहीँ उभिइरहेँ । मनमा अनेकौँ प्रश्न र उत्तरहरू एकसाथ आइरहेका थिए । मैले पहिलो पटक प्रकृतिलाई यति नजिकबाट महसुस गरेको थिएँ । त्यो दिन मैले एउटा गहिरो सत्य अनुभव गरेँ—बाघ मानिसको शत्रु होइन । ऊ पनि आफ्नो जीवन सुरक्षित राख्न चाहन्छ । उसले आफूलाई असुरक्षित महसुस नगरेसम्म वा अत्यधिक उक्साइएन भने अनावश्यक रूपमा मानिसमाथि आक्रमण गर्दैन ।

यस घटनाले मेरो मनमा रहेको बाघप्रतिको परम्परागत डर हटाइदियो । समाजमा बाघलाई केवल हिंस्रक जनावरका रूपमा चित्रण गरिन्छ । तर मैले उसको अर्को पक्ष देखेँ— संयम, धैर्य र सतर्कता । मैले बुझेँ कि बाघको व्यवहार परिस्थितिमा निर्भर हुन्छ । मानिसले गलत प्रतिक्रिया दिँदा दुर्घटना हुन सक्छ, तर संयम अपनाउँदा सहअस्तित्व सम्भव छ ।
यस घटनापछि मैले बाघका बारेमा अध्ययन गर्न थालेँ । वन्यजन्तु विज्ञहरूको लेख पढ्न थालेँ । संरक्षणकर्मीहरूसँग भेटघाट गर्न थालेँ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका गतिविधिहरूलाई नजिकबाट बुझ्न थालेँ । क्रमशः मेरो रुचि संरक्षणतर्फ गहिरिँदै गयो ।

मैले महसुस गरेँ कि नेपाल बाघ संरक्षणका लागि विश्वमै उदाहरणीय देश बन्दै गएको छ । तर संरक्षण केवल निकुञ्ज प्रशासन वा सुरक्षा निकायको प्रयासले मात्र सम्भव हुँदैन । स्थानीय समुदाय, सञ्चारमाध्यम, अनुसन्धानकर्ता र आमनागरिक सबैको भूमिका समान रूपमा महत्वपूर्ण हुन्छ ।

यही सोचले मलाई संरक्षण पत्रकारितातर्फ प्रेरित ग¥यो । म समाचार, लेख, रेडियो कार्यक्रम, टेलिभिजन रिपोर्ट, वृत्तचित्र तथा जनचेतनामूलक सामग्री तयार गर्न थालेँ । मेरा लेखहरूमा केवल समाचार होइन, संरक्षणको सन्देश पनि हुन थाल्यो । मैले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, मध्यवर्ती क्षेत्र व्यवस्थापन र समुदायको सहभागितालाई आफ्नो पत्रकारिताको केन्द्रमा राखेँ । मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालय र समुदायमा बाघलगायतका वन्यजन्तुहरूको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सचेतनामूलक कार्यक्रममार्फत समुदायमा चेतना जगाउन थाले । विद्यालय स्तरमा जैविक चौतारीमार्फत सहअस्तित्व र सचेतनामूलक कार्यक्रममा आफूलाई बढी केन्द्रित गर्न थालँे ।

जब–जब म बाँके राष्ट्रिय निकुञ्ज पुग्छु, त्यो नौ मिनेटको भेट सम्झना आउँछ । सडक, जंगल, ढिस्को र बाघको ती शान्त आँखा मेरो मानसपटलमा अझै स्पष्ट छन् । त्यो दृश्यले मलाई बारम्बार सम्झाइरहन्छ—प्रकृतिलाई जित्ने होइन, बुझ्ने प्रयास गर्नुपर्छ ।

मैले यस घटनाबाट अर्को महत्वपूर्ण शिक्षा पनि पाएँ । वन्यजन्तुसँग भेट हुँदा मानिसले आत्तिनु हुँदैन । सुरक्षित दूरी कायम गर्ने, अनावश्यक आवाज नगर्ने, उक्साउने व्यवहार नगर्ने र वन्यजन्तुलाई आफ्नो प्राकृतिक बाटो दिनु नै सबैभन्दा बुद्धिमानी उपाय हो । यही व्यवहारले धेरै सम्भावित दुर्घटनाहरू रोक्न सक्छ । त्यो दिन यदि मैले मोटरसाइकल तीव्र गतिमा कुदाएको भए, हर्न बजाएको भए वा डरले भाग्ने प्रयास गरेको भए परिणाम फरक हुन सक्थ्यो । तर शान्त रहँदा बाघले पनि शान्त व्यवहार ग¥यो । यसले मलाई वन्यजन्तुको व्यवहारबारे गहिरो बुझाइ दियो ।

आज म गर्वका साथ भन्न सक्छु कि मेरो संरक्षण यात्राको सुरुवात कुनै तालिमबाट भएको होइन, कुनै पुस्तक पढेर भएको होइन; त्यो यात्रा जंगलको बीचमा एउटा स्वतन्त्र बाघसँग भएको नौ मिनेटको वास्तविक भेटबाट सुरु भएको हो । त्यो भेटले मलाई जीवनभरका लागि एउटा जिम्मेवारी दियो—प्रकृतिको आवाज बन्ने जिम्मेवारी ।

मेरो विश्वास छ, यदि हामीले वन्यजन्तुलाई सही रूपमा बुझ्यौँ भने डरभन्दा सम्मान बढ्छ । सम्मान बढेपछि संरक्षण स्वतः बलियो हुन्छ । बाघको संरक्षण भनेको केवल एउटा प्रजातिको संरक्षण होइन; यो सम्पूर्ण वन पारिस्थितिक प्रणालीको संरक्षण हो । बाघ सुरक्षित हुँदा जंगल सुरक्षित हुन्छ, जंगल सुरक्षित हुँदा पानीका स्रोत सुरक्षित हुन्छन्, जैविक विविधता सुरक्षित हुन्छ र अन्ततः मानव जीवन पनि सुरक्षित हुन्छ ।

मेरो जीवनको त्यो नौ मिनेट आज पनि समयको सामान्य अन्तराल होइन । त्यो नौ मिनेटले मेरो सोच बदल्यो, मेरो पेशागत यात्रालाई नयाँ दिशा दियो र समाजप्रति मेरो दायित्वलाई अझ स्पष्ट बनायो । त्यसैले म आज पनि दृढ विश्वासका साथ भन्छु—बाघसँगको मेरो भेट डरको कथा होइन, विश्वासको कथा हो; द्वन्द्वको कथा होइन, सहअस्तित्वको कथा हो; र यही कथा नै मेरो संरक्षण पत्रकारिताको पहिलो अध्याय बनेको छ ।

प्रकृतिले त्यस दिन मलाई एउटा अमूल्य पाठ सिकाएको थियो—वन्यजन्तुलाई सम्मान गर, प्रकृतिले तिमीलाई सुरक्षित राख्नेछ । यही जीवनदर्शनलाई आत्मसात् गर्दै म आज पनि संरक्षणको पक्षमा कलम चलाइरहेको छु, र भविष्यमा पनि यो यात्रा निरन्तर जारी रहनेछ ।

यसैक्रममा बाँके राष्ट्रिय निकुञ्जमा बाघलगायतका वन्यजन्तुहरूको संरक्षणको लागि सकरात्मक सन्देश प्रवाह गर्नका लागि मेरो नेतृत्वमा विश्व वन्यजन्तु संरक्षण पत्रकार मञ्च पनि स्थापना भएको छ । यसका माध्यमले संरक्षणमा थप टेवा पु¥याउने उद्देश्यले काम भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय