अक्षररेखा संवाददाता
बाँसगढी, १० असोज
बर्दिया जिल्लामा गत २४ घन्टामा सबैभन्दा बढी सदरमुकाम गुलरियाआसपासमा वर्षा भएको छ । सो अवधिमा गुलरिया क्षेत्रमा १३८ एमएम वर्षा भएको बाढी पूर्वानुमान विभागले जनाएको छ । विभागको मापदण्ड अनुसार यो खतराको तहमा पुग्नै लागेको अवस्था हो ।
विभागका अनुसार बर्दियामा सबैभन्दा कम वर्षा भने कुम्रागाउँआसपास भएको छ, जहाँ गत २४ घन्टामा ५७ दशमलव ८ एमएम मात्र वर्षा भएको छ । तारातालमा १३६, मानपुरमा १२८, राजापुरमा १२५, रम्भापुरमा १२४, दौलतपुरमा ११० र गोदनामा १०३ एमएल वर्षा भएको छ । त्यस्तै, चेपाङमा ७६ एमएम वर्षा भएको विभागले जनाएको छ ।
प्रतिघन्टा ६०, प्रति ३ घन्टा ८०, प्रति ६ घन्टा १००, प्रति १२ घन्टा १२० र प्रति २४ घन्टा १४० एमएम वर्षा हुनुलाई खतराको तहमा राख्ने गरिएको छ । यदि वर्षाले यो तह पार गरेमा बाढी, पहिरो र भू–क्षय हुन सक्ने विभागको भनाइ छ ।
बर्दियामा बिहीबार साँझदेखि एकनासको वर्षा भइरहेको छ । बर्दियाको बाँसगढी आसपासमा शुक्रबार बिहान र शनिबार बिहान वर्षा केही कम भए पनि रोकिएको भने छैन । मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको अनुमान गरिए पनि बर्दियामा हालसम्म त्यस्तो अवस्था भने देखिएको छैन ।
वर्षाका कारण भएको क्षतिका घटनाहरू पनि खासै नआएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बबई नदीमा पानीको बहाव खतराको लेबलमा पुगे पनि कर्णालीलगायत अन्य नदीनालाहरूमा पानीको बहाव खतराको लेबलसम्म अझै नपुगेको जिप्रका बर्दियाको भनाइ छ ।
गुलरिया नगरपालिका–१ खैरापुरमा ५÷६ वटा घरमा पानी पसे पनि अन्य क्षतिका विवरण भने अहिलेसम्म नआएको जिप्रकाले जनाएको छ ।
तर पानी निरन्तर परिरहेको र अझै केही दिन पर्नसक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचना भएकाले सावधानी अपनाउन र सतर्क रहन सरोकारवाला निकायहरूले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।







