अक्षररेखा संवाददाता
बाँसगढी, १३ असोज
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बर्दियाका किसानको धानखेतीमा क्षति पुगेको छ । विषेशगरी पाकेको धान र फूल खेलिसकेको धानलाई वर्षाले बढी क्षति गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ ।

राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा धानखेतीमा बढी क्षति आँकलन गरिएको कार्यालयका सूचना अधिकारी फिर्तुमान चौधरीले जानकारी दिए । समग्रमा बर्दिया जिल्लाको धानखेतीमा खासै ठूलो क्षति नभए पनि पश्चिमी क्षेत्रहरूमा धान केही अगाडि रोपिएकाले धान पाकिसकेको र सो धानमा क्षति पुगेको उनले बताए ।

‘पालिकाहरूबाट क्षतिको यकिन विवरण त अझै आइपुगेको छैन,’ सूचना अधिकारी चौधरीले भने, ‘तर बर्दियाको पश्चिमी बेल्टमा पहिला रोपिएको धान पाकिसकेको अवस्था थियो । त्यसैले ती क्षेत्रमा बढी क्षति भएको अनुमान छ ।’ अन्य पालिकामा पनि पहिला रोपिएको धानमा केही क्षति पुगेको सूचना आएको उनले बताए ।

वर्षासँगै आएको हावाहुरीका कारण धान ढलेर र काटेको धान डुबानमा परेर बढी क्षति पुग्न गएको उनले जानकारी दिए । यस वर्ष बर्दियामा धानखेती राम्रै देखिएको भए पनि वर्षाले केही क्षति पु¥याएको उनको भनाइ छ ।

‘वर्षाका कारण जमिन पूरै चिसो भएको छ । पाकिसकेको धान पनि काट्न अब केही ढिला हुन्छ,’ चौधरीले भने, ‘यसले गर्दा धान खुरिन्छ र झर्ने बढी सम्भावना हुन्छ । जसका कारण किसानको लागत बढ्न जान्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय