अक्षररेखा संवाददाता
बाँसगढी, २४ असोज
बर्दियाका चर्चित उद्योगी तथा व्यवसायी नरबहादुर वली सम्मानित भएका छन् । उनलाई बाँसगढी नगरपालिका–२ स्थित श्री जीवन ज्योति माध्यमिक विद्यालय राँझाले सम्मान गरेको हो ।

कार्यक्रममा आफैँले कखरा सिकेको स्कुलबाट सम्मानित भएकोमा वली निकै भावुक बनेका थिए ।

‘जीवनका केही क्षणहरू यस्ता हुन्छन्, जसले मनलाई भावुक बनाउँछन् र विगतका सुन्दर सम्झनाहरू ताजा गराउँछन्,’ सम्मानपछि भावुक अभिव्यक्ति दिँदै वलीले भनेका छन्, ‘मैले कखरा सिकेको, बाल्यकाल बिताएको र शिक्षाको पहिलो पाइला चालेको विद्यालयबाट सम्मानित हुन पाउँदा म निकै भावुक भएको छु ।’

सो विद्यालयमा पछि दुई वर्ष शिक्षकका रूपमासमेत आफूले काम गरेको उनले बताए ।

‘आज त्यही विद्यालयले मलाई सम्मान गर्दा मन गर्व, खुसी र कृतज्ञताले भरिएको छ,’ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्ना अभिव्यक्ति पोखेका छन्, ‘हिजो यही विद्यालयमा विद्यार्थी बनेर भविष्यका सपना बुनेँ, पछि शिक्षक बनेर ज्ञान बाँड्ने प्रयास गरेँ, अनि आज यही आँगनमा सम्मानित हुने सौभाग्य पाएँ । मेरा लागि यो सम्मान एउटा व्यक्तिको मात्र होइन, मेरो बाल्यकाल, मेरो संघर्ष, मेरो कर्म र मेरो जीवन यात्राको सम्मान हो भन्ने मैले बुझेको छु ।’

विद्यालय भनेको केवल पढ्ने ठाउँ मात्र नभएर जीवन बनाउने आधार भएको उनको बुझाइ छ । उनले शिक्षकलाई केवल पाठ पढाउने व्यक्ति मात्र नभएर भविष्य निर्माण गर्ने शिल्पकारको संज्ञा दिएका छन् ।

‘जुन आँगनले मलाई अक्षर चिनायो, आज त्यही आँगनले सम्मान दिएर मेरो जीवनको एउटा सुन्दर अध्यायलाई अविस्मरणीय बनाइदिएको छ,’ वलीले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय