अक्षररेखा संवाददाता
बाँसगढी, २८ असोज
बाँसगढी नगरबासीले आन्तरिक राजस्व कार्यालय नेपालगन्जबाट प्राप्त गर्दै आएका सेवाहरू अब बाँसगढी नगरपालिकाबाटै प्राप्त गर्न सक्ने भएका छन् । बाँसगढी नगरपालिका र आन्तरिक राजस्व कार्यालय नेपालगन्जबीच भएको सहमतिपछि आन्तरिक राजस्वसम्बन्धी केही सेवाहरू बाँसगढी नगरपालिकाबाटै प्रदान गर्न लागिएको हो ।
नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको नागरिकलाई प्रदान गरिने सेवाहरू क्रमशः स्थानीय तहलाई हस्तान्तरण गर्दै जाने निर्णयअनुसार सो सहमति गरिएको जनाइएको छ ।

सहमतिअनुसार नगरपालिकाभित्रका सेवाग्राहीहरूलाई व्यक्तिगत स्थायी लेखा नम्बर (पान) जारी गर्ने, व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस पान) जारी गर्ने, मूल्य अभिवृद्धि करका लागि परेका निवदेन राजस्व कार्यालयमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र प्रदान गर्नेलगायतका काम अब बाँसगढी नगरपालिकाबाटै हुनेछन् ।
त्यसैगरी, अन्त शुल्क इजाजतपत्र र नवीकरण, करचुक्ता प्रमाणपत्र, दर्तासम्बन्धी विवरण संशोधनलगायतका सेवाहरू पनि नगरपालिकाबाटै प्रदान गरिने सहमतिपत्रमा जनाइएको छ ।

यी सेवाहरु प्रवाहका लागि आवश्यक पर्ने सम्पूर्ण जनशक्ति नगरपालिकाले नै व्यवस्थापन गर्नुपर्ने तथा आन्तरिक राजस्व कार्यालयबाट सञ्चालित पोर्टल इन्टिग्रेट ट्याक्स सिस्टम प्रयोग गरी सेवा प्रदान गर्नुपर्ने सेवाका सर्तहरु रहेका छन् । यी सेवाहरु प्रदान गरेबापत नगरपालिकाले अतिरिक्त कुनै शुल्क लिन पाउनेछैन ।
बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. राजन घिमिरे र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर अधिकृत पूर्णप्रसाद न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपछि अब चाँडै ती सेवाहरु बाँसगढीबासीले प्राप्त गर्नसक्ने बाँसगढी नगरपालिकाले जनाएको छ । कर्मचारी छनोट र तालिमको व्यवस्थापछि लगत्तै सेवा प्रवाह सुरु गरिने नगर प्रमुख खड्कबहादुर खड्काले जानकारी दिए । ‘कर्मचारीहरुलाई तालिमका लागि केही समय लाग्ला,’ नगर प्रमुख खड्काले भने, ‘त्यसपछि लगत्तै सेवा सुरु हुनेछ ।’







