अक्षररेखा संवाददाता
बाँसगढी, ११ माघ
बाँसगढी उद्योग बाणिज्य संघद्वारा पुस ३० गतेदेखि बाँसगढीमा सञ्चालित सातौँ औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०८२ को आइतबार समापन गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष बद्रीनाथ बरालले मेलाको समापन गरेका हुन् ।

मेला समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बरालले मेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पु¥याउने उद्योगी व्यापारी, सुरक्षा निकाय, संघसंस्था, सञ्चारकर्मी तथा अवलोकनकर्ता आम सर्वसाधारप्रति आभार प्रकट गरे । यसपटकको मेलालाई लागूऔषधरहित समाज निर्माणका लागि सचेतना जगाउने थलोका रूपमा प्रयोग गरिएको उनको भनाइ थियो । संघले यसपटक ‘कृषि पर्यटन उद्योग, व्यापार तथा संस्कृतिको पहिचान ः लागूऔषध दुव्र्यसनी हाम्रो अभियान’ भन्ने नारा तय गरेको थियो ।

समापन समारोहलाई प्रमुख अतिथिको आसनबाट संघका संस्थापक अध्यक्ष पुष्प बराल, पूर्वअध्यक्ष रामसिंह थारू, मुख्य प्रायोजक पाँचु एन्ड गुड्डु ज्वैलर्स बाँसगढीका प्रोपराइटर विनोद चौधरीलगायतले मेला शान्तिपूण रूपमा सम्पन्न गरेकोमा संघलगायत सरोकारवालाहरूप्रति धन्यवाद व्यक्त गरेका थिए । संघका सचिव प्रेमनारायण पौडेलले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष शिव देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा मेलालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने प्रायोजक, सुरक्षा निकाय, सञ्चारकर्मी, दलका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरूलाई बाँसगढीका विभिन्न पर्यटकीय स्थलहरूका तस्बिर अंकित मायाको चिनोसमेत प्रदान गरिएको थियो । सो अवसरमा स्थानीय बालकलाकारहरूले आफ्नो कला प्रदर्शन गरेका थिए । मेलाको औपचारिक समापनपश्चात मेलामा राष्ट्रिय कलाकार रचना रिमालका साथै अन्य कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ ।


