अक्षर रेखा सम्बादाता ।
बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बा ०३-००५ नम्बरको एम्बुलेन्सले आइतबार बिहान गुलरिया नगरपालिका–७ तुलापुरमा पैदल हिँडिरहेका मानिसहरूलाई ठक्कर दिएको हो।
दुर्घटनामा गुलरिया नगरपालिका–५ का ५२ वर्षीय याेग गुरु भूमि राज लामिछाने र उनका नाति रिहान्सको मृत्यु भएको छ।
प्रहरीका अनुसार उनीहरू योग शिविरतर्फ जाँदै गर्दा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको थियो।
दुर्घटनामा लामिछानेकी ५० वर्षीया पत्नी सीता लामिछाने र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। दुवै जनाको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि एम्बुलेन्स र चालकलाई मधुवन नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
