अक्षररेखा संवाददाता
बर्दिया, २७ वैशाख
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने खेलाडीलाई बाँसगढी नगरपालिकाले निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने भएको छ । बाँसगढीका खेलाडीहरूलाई जितका लागि शुभकामना दिँदै बाँसगढी नगरपालिकाका मेयर खड्कबहादुर खड्काले जिल्लास्तरीय रनिङ शिल्डमा प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ११ र १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका हुन् ।

खेलकुद क्षेत्रको प्रवद्र्धन र पालिकाभित्रका खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले सो घोषणा गरिएको नगर प्रमुख खड्काले अक्षररेखा डटकमलाई जानकारी दिए । समूहगत खेलतर्फ च्याम्पियन समूहको उत्कृट खेलाडी र व्यक्तिगततर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ११ र १२ कक्षा पढ्ने सम्पूर्ण खर्चको जिम्मा नगरपालिकाले लिने नगर प्रमुख खड्काले बताए ।

जिल्ला सदरमुकाम गुलरियामा आज जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन हुँदै छ । बाँसगढी नगरपालिकाबाट १३० जना खेलाडी सो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताका सबै इभेन्टमा बाँसगढी नगरपालिकाका खेलाडीले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समिति बाँसगढीका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिए ।

समितिले वैशाख १६ देखि २५ गतेसम्म बाँसगढी–४ मगरपुरस्थित कभर्डहलमा खेलाडी छनौट गरेको थियो । पालिकास्तरीय प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय भएका तथा सम्भावित खेलाडीहरू छनोट गरेर जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गराउन लागिएको खत्रीले बताए । मार्सल आर्ट, भलिबल, कबड्डी, म्याराथनलगायतका धेरै खेलमा बाँसगढीका खेलाडी अग्रस्थानमा रहेको खत्रीको भनाइ छ ।

गत वर्ष जिल्लामा दोस्रो स्थान हासिल गरेको बाँसगढी नगरपालिकाले त्यसभन्दा अघिल्लो वर्ष भने प्रथम स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय