अक्षररेखा संवाददाता
बर्दिया, ६ जेठ

बाँसगढी नगरपालिकाका मेयर खड्कबहादुर खड्काले बाँसगढी नगरपालिकाभित्रका गरिब, विपन्न, मुक्तकमैया, सुकुम्बासी, दलित तथा जेहेन्दार परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाएका छन् । एसईई परीक्षा पास गरेका २० जना गरिब, विपन्न, दलित, मुक्तकमैया, सुकुम्बासी तथा जेहेन्दार परिवारका विद्यार्थीलाई ११ र १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गरेका हुन् ।

पैसाको अभावमा विद्यार्थीको पढ्ने र अभिभावकको पढाउने सपना नमरोस् भनेर आफूले विपन्न परिवारका छोराछोरीलाई निःशुल्क पढाउने व्यवस्था मिलाएको नगर प्रमुख खड्काले बताए । ‘घरको कमजोर आर्थिक अवस्थाका कारण कतिपय अभिभावकले आफ्ना छोराछोरीको पढाइ अगाडि बढाउन सकिरहेका छैनन्,’ मेयर खड्काले भने, ‘पढ्ने क्षमता र रहर हुँदाहुँदै पनि कतिपय विद्यार्थीको पढाइ एसईईपछि रोकिने गरेको छ । मेरो सहयोगले उनीहरूका सपना पूरा हुन सकून् भनेर यो व्यवस्था मिलाएको हुँ ।’

मेयर खड्काले विश्व शान्ति महाअभियान (एफएफडब्लूपीयू) नामक संस्थासँगको समन्वयमा विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क खाने, बस्ने र पढ्ने व्यवस्था मिलाएको जानकारी दिए । कुनै बेला आफू पनि यस्तै आर्थिक विपन्नताबाट गुज्रिएर पढाइमा समस्या झेल्नुपरेको स्मरण गर्दै मेयर खड्काले आफ्नै पीडा सम्झिएर विपन्न परिवारका बालबालिकाको पढाइका लागि सहयोग गर्न चाहेको बताए ।

‘मेरो यो प्रयासले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउन नसक्ने चिन्तामा रहेका अभिभावकका आँखामा ठूलो आशा पलाएको देखेको छु,’ मेयर खड्काले भने, ‘ती बालबालिकाका सपनामा अब गरिबी बाधक बन्ने छैन भन्ने मेरो अठोट छ ।’

मेयर खड्काले केही समयअघि मात्र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई ११ र १२ कक्षासम्म निःशुल्क पढाउने घोषणासमेत गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय