अक्षररेखा संवाददाता
बाँके, ७ जेठ
दलित महिला जनप्रतिनिधि तथा अन्य महिलाहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि कोहलपुरमा ६ दिने पत्रकारिता तथा उद्घोषण तालिम सुरु भएको छ । कोहलपुर नगरपालिका १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले एक कार्यक्रमका बीच कोहलपुरमा आज सो तालिमको शुभारम्भ गरेका छन् ।

कोहलपुर नगरपालिकाका सबै वडा र राप्ती सोनारी गाउँपालिकाका ८ र ९ नम्बर वडाका महिला तथा दलित जनप्रतिनिधिसहितका महिलालाई पत्रकारिता र उद्घोषणमार्फत नेतृत्व विकास गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको जनाइएको छ ।

तालिमपछि महिला दिदीबहिनीहरूले समाजमा आफ्ना कुरा निर्धक्क भएर राख्न सक्ने क्षमता विकास हुने अपेक्षा गरेको वडाध्यक्ष शाहले बताए । उनले तालिममा सक्रिय रूपमा सहभागी भएर सो अवसरको फाइदा लिन पनि सहभागीहरूलाई आग्रह गरे ।

सो तालिम कार्यक्रमका संयोजक टीकाराम रिजालले जनप्रतिनिध महिलाहरूलाई पत्रकारितासम्बन्धी आधारभूत तालिम दिएर उनीहरूको नेतृत्व क्षमता विकास गर्ने उद्देश्य राखिएको बताए । तालिममार्फत समाजमा सकारात्मक सोचको विकास गर्नु पनि कार्यक्रमको अर्को उद्देश्य रहेको उनको भनाइ छ ।

आयोजक संस्था बिहानी मिडिया एन्ड मल्टिपल एकेडेमी प्रालिका सञ्चालक तथा कार्यक्रमका सभापति महेश अधिकारीले तालिम सफलताको शुभकामना व्यक्त गर्दै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्दै महिला दिदीबहिनीहरूले आफ्नो क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । तालिम शुभारम्भ समारोहको सञ्चालन सामाजिक अभियन्ता प्रेम केसीले गरेका थिए ।

सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज बाँकेको आर्थिक सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा ३० जना महिलाहरूको सहभागिता रहेको छ ।

बाँकेका पत्रकारहरू प्रियास्मृति ढकाल, प्रदीप वाग्ले, राजेश आचार्य, रूपा गहतराजलगायतले तालिममा प्रशिक्षण गरिरहेका छन् । ३०–३२ वटा विभिन्न सेसनहरूमा पत्रकारिता तथा उद्घोषणसम्बन्धी तालिम प्रदान गरिने कार्यक्रम संयोजक रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय