अक्षररेखा संवाददाता
बाँसगढी, १८ जेठ
बाँसगढी बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा १५० मत ल्याएर अध्यक्ष पदमा रेशम अधिकारी विजय भइरहँदा नरहरि पौडेल सबैभन्दा बढी मत ल्याएर सदस्य पदमा विजयी भएका छन् । जेठ १७ गते भएको निर्वाचनमा पौडेलले सबैभन्दा बढी २०१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, दोस्रो लोकप्रिय मत प्राप्त गर्ने सदस्यमा पूर्वशिक्षक जगमोहन झा रहेका छन् । उनले २०० मत प्राप्त गरेका थिए । त्यसैगरी, तेस्रो लोकप्रिय मत ल्याउनेमा महिला सदस्य मनु अधिकारी छन् । उनले १९० मत प्राप्त गरेकी थिइन् ।

अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रेशम अधिकारी, नेपाली कांग्रेसका तर्फबाट लोकप्रसाद शर्मा र स्वतन्त्रबाट केशव पौडेलले उम्मेदवारी दिएका थिए ।

एक महिला सदस्य पदका लागि दुई जना र ११ खुला सदस्य पदका लागि २० जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्ष पदमा अधिकारी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकप्रसाद शर्माले ११८ मत ल्याएका थिए भने अर्का प्रतिस्पर्धी केशव पौडेलले ६९ मत प्राप्त गरेका थिए । कुल ४५४ मतदाता रहेको क्याम्पस चुनावमा ३४१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनबाट अध्यक्ष, एक महिला सदस्यसहित १३ जना निर्वाचित भएका छन् । निर्वाचित हुने अन्य सदस्यहरूमा लक्ष्मी परियार, विनोदकुमार परियार,गोपालबहादुर खड्का, मनहरि पौडेल, छविलाल रिजाल शर्मा, जोहन पी अधिकारी, नवराज कुँवर, प्रकाश शर्मा पौडेल र हीरामणि ढकाल रहेका छन् । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय