अक्षररेखा संवाददाता
बर्दिया, १६ साउन
नेपालमा बाघको सङ्ख्या निरन्तर वृद्धि हुँदै आएको छ । सन् २०२२ को बाघ गणनामा नेपालमा ३५५ वटा बाघ रहेकोमा २०२६ को बाघ गणनामा बाघको सङ्ख्या बढेर ४२९ पुगेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चार वर्षमा नेपालमा ७४ को सङ्ख्यामा बाघ बढेको छ । विगतमा बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या राम्रो रहे पनि पछिल्लो समय बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा समेत बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको पाइएको छ ।
सन् २००९ मा नेपालमा १२१ वटा बाघ गणना गरिएको थियो । त्यसयता यहाँ बाघको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।
सन् २०२२ को बाघ गणनामा २५ को सङ्ख्यामा रहेको बाँके राष्ट्रिय निकुञ्जमा यसपटक दोब्बरभन्दा बढी वृद्धि भएर बाघको सङ्ख्या ५१ पुगेको छ । त्यसैगरी, पर्सा राष्ट्रिय निकुञ्जमा पनि ४१ वटा बाघ रहेकोमा पछिल्लो समय ७१ को सङ्ख्यामा बाघ गणना गरिएको छ । चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघको सङ्ख्या केही वृद्धि भएको छ । विगतमा चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेकोमा हाल बढेर १४५ पुगेको छ भने शुक्लाफाँटामा ३६ को सङ्ख्यामा रहेको बाघ बढेर ५० पुगेको छ ।
तर चितवनपछि बाघको राम्रो सङ्ख्या रहने गरेको बर्दिया राष्ट्रिय निकुञ्जमा भने यसपटक बाघको सङ्ख्या बढ्नुको साटो घटेको पाइएको छ । सन् २०२२ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ को सङ्ख्यामा रहेको बाघ पछिल्लो समय घटेर ११२ मा झरेको छ । अहिले बर्दियामा बाघको सङ्ख्या केही घटेको देखिए पनि आगामी दिनमा यो सङ्ख्या बढ्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र खनालले बताए । ‘बर्दियामा बाघको सङ्ख्या घट्यो भनेर चिन्ता लिनुपर्ने केही छैन, अहिले पनि बर्दियामा बाघको डेन्सिटी अन्य निकुञ्जको तुलनामा बाक्लो छ,’ उनले भने, ‘बासस्थान व्यवस्थापन, आहारा प्रजातिको प्रचूरता र उचित बासस्थानका कारण बर्दियामा आगामी दिनमा बाघको सङ्ख्या बढ्छ ।’ उनले हाइडेन्सिटी, फिमेल र बच्चाको सङ्ख्यामा पर्याप्त तथा आहारा र बासस्थानको उचित व्यवस्थापनका कारण आमागी दिनमा बर्दियामा बाघको सङ्ख्या बढ्ने बताए ।
बर्दियादेखि दक्षिणतिर भारतको कनर्नियाघाट वाइल्डलाइफ कन्जरभेसन पर्दछ । निकुञ्जको दक्षिणतिर रहेको खाता जैविक करिडोरबाट बाघ, हात्ती जस्ता वन्यजन्तु सजिलै आहोरदोहोर गर्न सक्छन् । त्यसैगरी पश्चिमतिर कैलालीको वसन्ता वन र उत्तरतिर चुरेका वन हुँदै बर्दियाका बाघ सजिलै बाँकेसम्म पनि पुग्न सक्छन् । यही कारण पनि यसपटकको गणनामा बर्दियामा बाघको सङ्ख्या केही कम देखिएको हुनसक्ने कतिपयको अनुमान छ ।
नेपालमा बाघको सङ्ख्या निरन्तर बढ्नुमा बाघको बासस्थान क्षेत्र विस्तार, आहारा प्रजातिको बढोत्तरी तथा बासस्थान व्यवस्थापन प्रमुख रहेको संरक्षणकर्मीहरूको भनाइ छ । बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका लागि बासस्थान क्षेत्र विस्तार भएकाले ती क्षेत्रहरूमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको विभागका वरिष्ठ इकोलोजिस्ट आचार्यले बताए ।
नेपालमा बाघको सङ्ख्या वृद्धि हुनुले संरक्षणकर्मीहरूलाई उत्साहित बनाउनुका साथै चुनौतीसमेत थपिएको उनको भनाइ छ । बाघको सङ्ख्या वृद्धिसँगै जनमानसमा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्न सक्ने भय बढेकोप्रति लक्षित गर्दै आचार्यले भने, ‘बाघको सङ्ख्या बढ्दैमा मानव–वन्यजन्तु द्वन्द्व बढेको पुष्टि हुँदैन । तर यसलाई उचित किसिमले व्यवस्थापन गर्ने चुनौती भने थपिएको छ ।’
नेपालका तराई क्षेत्रमा अवस्थित पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा यस वरपरका वन क्षेत्रमा रोयल बेंगाल भनिने पाटेबाघ पाइने गरेको छ ।





