अक्षररेखा संवाददाता
सुर्खेत, १६ साउन
सुर्खेतको अत्यन्तै विकट क्षेत्र मानिने भेरीगंगा नगरपालिका–५ लेखहात्तीखालमा दुग्ध डेरी सञ्चालनमा आएको छ । स्थानीयबासी गोरखबहादुर खड्काले आफ्नै निजी लगानीमा सो डेरी सञ्चालनमा ल्याएका हुन् ।
गाउँमै दूध डेरी सञ्चालनमा आएपछि विकट गाउँका किसानको जीवनमा आर्थिक रूपमा सकारात्मक परिवर्तन देखिन थालेको छ । गाउँमै दूध बिक्रीको व्यवस्था भएपछि किसानले नियमित आम्दानी गर्न थालेका छन् भने डेरीले दूधबाट खुवा, पनिर, ध्यू र दही उत्पादनलाई प्राथमिकता दिएको छ ।
जिल्लाकै विकट बस्तीमध्ये एक मानिने यो गाउँमा अहिले दुग्ध डेरी सञ्चालनमा आएपछि किसान उत्साहित बनेका छन् । अहिले यहाँको आर्गानिक खुवाको पनि चर्चा हुन थालेको छ ।

पहिले यहाँ दूध बिक्रीका लागि कुनै पूर्वधार थिएन । पछिल्लो समय जय दुर्गा कृषि तथा पशुपन्छी फर्म सञ्चालनमा आएपछि डेरी उद्योगले कृषिकहरूको दुध खरिद गरेर खुवा उत्पादनलाई पहिलो प्रथामिकता दिएको छ ।
केही वर्षअघि लेखहात्तीखाल गाउँलाई अर्गानिक गाउँ घोषण गरिएको थियो । डेरीका लागि किसानबाट दैनिक करिब ८० लिटर दूध सङ्कलन भइरहेको सञ्चालक खड्काले जानकारी दिए । ‘यसले किसानलाई नियमित आम्दानीको आधार बनाएको छ,’ खड्काले भने, ‘किसान व्यावसायिक पशुपालनतर्फ पनि आकर्षित भएका छन् ।’ यहाँबाट उत्पादित खुवालाई बजारीकण गर्ने कामलाई तीव्रता दिइएको सञ्चालक खड्काको भनाइ छ ।
स्थानीय कृषक चन्द्रबहादुर खड्काले भने, ‘पहिले दूध बेच्ने ठाउँ पुग्न १० किलोमिटर ढाढा पैदल जानुपर्ने बाध्यता थियो । दूध बेच्न गाह्रो थियो । जति भए पनि दूध घरमै खपत गर्नुपर्ने अवस्था थियो । खान नसके खेर जान्थ्यो । तर अहिले डेरी खुलेपछि दैनिक दूध बेच्न पाएका छौं । आम्दानी पनि बढेको छ ।’
त्यसैगरी, अर्का स्थानीय कृषक कृणा रावतले पनि अहिले यस क्षेत्रका सबै किसानले दैनिक रूपमा दूध यही डेरीमा ल्याएर बेच्ने गरेको बताए । ‘भौगोलिक रूपमा विकट भए पनि लेखहात्तीखालमा दूध डेरी सञ्चालनले ग्रामीण अर्थतन्त्रमा नयाँ सम्भावना देखाएको छ,’ उनले भने ।





