अक्षररेखा संवाददाता
बाँसगढी, २१ साउन

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर बाँसगढी नगरपालिकाले युवाहरूलाई उद्घोषण तथा वक्तृत्वकला विकास तालिम सञ्चालन गरेको छ । बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले आज आयोजित एक कार्यक्रममा सो तालिमको उद्घाटन गरे ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले युवाहरूलाई आफ्ना विचार निर्धक्क राख्न सक्ने बनाउन सो तालिम सञ्चालन गरिएको बताए । नगरको विकास र समृद्धिसँग युवाहरूलाई जोड्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको उनको भनाइ थियो । ‘नगरको विकास र समृद्धिमा युवाहरूको महत्वपूर्ण भूमिका हुन्छ,’ उनको भनाइ थियो, ‘उनीहरूको अन्तरनिहीत क्षमतालाई उजागर गर्न यस्ता तालिमहरूले निकै सहयोग पु¥याउँछ ।’

तालिममा सहभागीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले आफूले सिकेको सीपलाई समाजका लागि उपयोग गर्न सुझाव दिइन् । उद्घोषण तथा वक्तृत्वकला विकास तालिमको औचित्यबारे प्रकाश पार्दै बाँसगढी नगरपालिकाका रोजगार संयोजक सुवास पराजुलीले युवाहरूको वक्तृत्व क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको बताए ।

आगामी २७ गतेसम्म सञ्चालन हुने सो तालिममा उद्घोेषणका आयाम, उद्घोषणमा अध्यासको भूमिका, उद्घोषकमा हुनुपर्ने गुणहरू, सफल उद्घोषक बन्ने तरिका, रेडियो, टेलिभिजन तथा मञ्चीय कार्यक्रम प्रस्तुतिलगायतका विषयमा प्रशिक्षकहरूले प्रशिक्षण दिने बताइएको छ ।

तालिम उद्घाटन सत्रपछि पहिलो दिन उद्घाटन अभ्यास, उद्घोषणको पृष्ठभूमि, उद्घोषक (फाइभ डब्लू एच)बारे मन भण्डारीले प्रशिक्षण गरेका छन् । त्यस्तै, रबिन्द्र बोहरा, ओविराज आचार्य, नमस्कार शाहले उद्घोषण तथा वक्तृत्वकलाका विविध विषयमा प्रशिक्षण दिने जनाइएको छ ।

कार्यक्रममा बाँसगढी नगरपालिकाका नौवटै वडाबाट ४० जनाको प्रतिनिधित्व रहेको राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस)का कार्यक्रम संयोजक जीतराम थारूले जानकारी दिए । बाँसगढी नगरपालिकाको आयोजनामा सञ्चालित सो तालिममा आरकेजेएसको साझेदारी तथा बाँसगढी नगर युवा सञ्जालको समन्वय रहेको छ । तालिमका उत्कृष्ट दुई प्रशिक्षार्थीलाई समापनका अवसरमा कार्यक्रम सञ्चालनको जिम्मेवारी दिइने बताइएको छ ।

सो तालिम उद्घाटन समारोहको सञ्चालन बाँसगढी नगरपालिका पञ्जीकरण शाखाका मदन भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय