अक्षररेखा संवाददाता
बाँसगढी, २७ साउन
बाँसगढीमा सञ्चालित सातदिने उद्घोषण तथा वक्तृत्वकला विकास तालिमको आज समापन गरिएको छ । बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिम समापन गरेका हुन् ।
२७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारीमा बाँसगढी नगरपालिकाले गत साउन २१ गतेदेखि तालिम आयोजना गरेको थियो । जसमा नगर युवा सञ्जाल बाँसगढीको समन्वय रहेको थियो ।

समापन कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरूले सातदिने तालिमका क्रममा आफूहरूले उद्घोषण तथा वक्तृत्वकलासम्बन्धी धेरै कुरा सिक्ने अवसर पाएको बताए । ‘तालिमबाट मलगायत साथीहरूले धेरै कुरा सिक्ने अवसर पाएका छौँ,’ समापन कार्यक्रममा आफ्नो संक्षिप्त मन्तव्य राख्दै प्रशिक्षार्थी आयुष रिजालले भने, ‘आफ्ना कुरा कसरी प्रभावकारी रूपमा अरूसमक्ष पु¥याउने भन्ने कुरा बुझ्नुका साथै अब निर्धक्क भएर बोल्न सक्ने भएका छौँ ।’
त्यस्तै, अर्की प्रशिक्षार्थी सुलोचना चौधरीले पनि तालिम आफूहरूका लागि निकै प्रभावकारी भएको बताइन् । ‘पहिला अरूका सामु बोल्न निकै धक लाग्थ्यो,’ चौधरीले भनिन्, ‘अब निर्धक्क भएर बोल्न सक्ने भएकी छु ।’
कार्यक्रममा बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरी, प्रशिक्षक रबिन्द्र बोहोरालगायतले आफूले सिकेको सीपलाई अझ निखार्दै लगेर आयआर्जनसँग जोड्न प्रशिक्षार्थीहरूलाई सुझाव दिएका थिए ।





