अक्षररेखा संवाददाता
बाँसगढी, २७ साउन

२७औँ अन्तर्र्राष्ट्रिय युवा दिवसका अवसरमा युवा सञ्जाल बाँसगढीले बुधबार एक अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको छ । ‘स्थानीय विकासमा युवाहरूको भूमिका’ विषयमा अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्थानीय युवाहरूले नगरभित्रका प्रमुख समस्या र चुनौतीका बारेमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायतसँग अन्तरसंवाद गरेका थिए । लागूऔषध दुव्र्यसनी, बालविवाह, स्थानीय विकास, वातावरण संरक्षणलगायतका सवालमा युवाहरूले स्थानीय सरकारसमक्ष जिज्ञासा राखेका थिए । कार्यक्रममा अधिकांश युवाहरूले बाँसगढी नगरपालिकाको प्रमुख चुनौतीका रूपमा देखिएको लागूऔषध दुव्र्यसनीको न्यूनीकरणका लागि स्थानीय सरकारसँग आग्रह गरेका थिए ।

अन्तरसंवाद कार्यक्रममा विभिन्न ६ वटा जल्दाबल्दा विषयमा युवाहरूले छलफल चलाएका थिए । ‘गाउँमै रोजगारी चुनौती र अवसर’ विषयमा अजिता घिमिरे, ‘युवा नेतृत्व र स्थानीय विकास’ विषयमा कालीचरण थारू, ‘जलवायु परिवर्तन र युवाको भूमिका’ विषयमा विन्दु चौधरी, ‘लागूऔषध दुव्र्यसनी र युवाहरूको भूमिका’ विषयमा नीमप्रकाश कुँवर, ‘बालविवाह न्यूनीकरणमा युवाहरूको भूमिका’ विषयमा सुलोचना चौधरी र ‘उद्घोषण कला सम्भावना र अवसर’ विषयमा सुजन चौधरीले आ–आफ्ना धारणा राखेका थिए ।

युवाहरूका प्रश्न र जिज्ञासापछि बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले आफ्नो क्षमताले भ्याएसम्म नगरको विकास र समृद्धि तथा यहाँ देखिएका विकृति विसंगति न्यूनीकरणका लागि नगरपालिकाले भरमग्दूर प्रयास गरिरहेको बताए । उनले सकारात्मक सोचका साथ अगाडि बढ्न र नगरको विकासमा साझेदारी गरिदिन पनि युवाहरूलाई आग्रह गरे । ‘नगरबासीले देशको कुनै पनि कुनामा गएर शिर झुकाउनुपर्ने काम बाँसगढी नगरपालिकाले गरेको छैन,’ नगर प्रमुख खड्काले भने, ‘बाँसगढी नगरपालिका ८९ प्रतिशत काम गर्ने मुलुककै उत्कृष्ट पालिकामध्ये एक हो ।’

युवाहरू भनेका भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदारसमेत भएकाले स्थानीय विकास र समृद्धिमा हातेमालो गर्न उनको आग्रह थियो ।

त्यसैगरी, उपप्रमुख इन्दिरा चौधरीले नगरको प्रमुख समस्या र चुनौती भएकैले लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि नगरपालिकाले विभिन्न प्रयास गरिरहेको बताइन् । उनले विभिन्न सामाजिक संघसंस्था, बडघर संस्था तथा विभिन्न मञ्चहरूका माध्यमले लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि नगरपालिकाले प्रयास गरिरहेको जानकारी दिइन् ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले अब युवाले निराशा, गुनासा र विभाजनका कुरा गर्न छोडेर आशा र एकताका कुरा गर्नुपर्ने बताए । ‘हामीले निराशा र गुनासाका कथा धेरै लेखिसक्यौँ,’ प्रमुख प्रशासकीय अधिकृत वलीले भने, ‘अब ती कथा दोहो¥याउनु हुँदैन, अब आशा, भरोसा र एकताका कथा लेख्नुपर्छ ।’

कार्यक्रममा बाँसगढी नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका वडाध्यक्षहरू क्रमशः कृष्णप्रसाद बाँस्तोला, दहवा थारू, लालबहादुर क्षेत्री, बलिराम चौधरी, तुलप्रसाद गौतम र चन्द्र शाही, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराल, सामुदायिक पुस्तकालय बाँसगढीका अध्यक्ष बलराम भुजेल, नगर युवा सञ्जाल बाँसगढीका सल्लाहकार एकनारायण अधिकारी, नागरिक सञ्जाल बाँसगढीका सचिव विनोद परियारलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

युवा दिवसकै अवसरमा सञ्चालन गरिएको उद्घोषण तथा वक्तृत्वकला विकास तालिमका प्रशिक्षार्थीद्वय बीना पौडेल र लक्ष्मी धम्लहवाले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नगर युवा सञ्जाल बाँसगढीका अध्यक्ष राज थारूले गरेका थिए भने मीना जागाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रमको बीचबीचमा थारू समुदायमा प्रस्तुत गरिने परम्परागत गीत र नृत्यहरूसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय