अक्षररेखा संवाददाता
कोहलपुर, २३ भदौ
कोहलपुरका समाजसेवी कर्णबहादुर थापाले कोहलपुर नगरपालिकाको समग्र विकासलाई आधार बनाएर आफ्नो पुस्तक ‘कोहलपुर विकासको प्रस्तावना’ प्रकाशित गर्न लागेका छन् । विगतका आफ्ना अनुभव र कोहलपुर नगरभित्रका वास्तविक समस्याहरूलाई उजागर गर्दै कोहलपुरको विकासका लागि यहाँका राजनीतिक, सामाजिक, व्यावसायिक अगुवा तथा समग्र नगरबासीलाई झक्झक्याउने उद्देश्यले आफूले सो पुस्तिका प्रकाशित गर्न लागेको थापाले बताए ।

सानो आकारमा रहेको सो पुस्तिका यही भदौ महिनाको अन्तिमसम्ममा प्रकाशित भएर बजारमा आइसक्ने थापाले जानकारी दिए ।

‘भौगोलिक अवस्थितिका हिसाबले कोहलपुर अत्यन्तै महत्वपूर्ण ठाउँ हो,’ थापाले भने, ‘यस ठाउँको विकास र समृद्धिका लागि यहाँका सबै नागरिकले गम्भीर भएर सोच्नु जरुरी छ ।’ कुनै पनि ठाउँको विकासका लागि सरकारको मात्र मुख नताकेर स्थानीयबासी स्वयम् जागृत हुनुपर्ने भन्दै थापाले कोहलपुरको विकास र समुन्नतिका लागि यहाँका सम्पूर्ण नागरिकमा बहस चलाउने मनसायले आफूले सो पुस्तक सार्वजनिक गर्न लागेको बताए । पुस्तकमा थापाले कोहलपुरको सहरी विकास, पूर्वाधार विकास, कृषि, व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य, खानेपानी, सौन्दर्यीकरणलगायतका विषयको उठान गरिएको जानकारी दिए ।

२०८० सालमा कोहलपुर नगरपालिकाले आयोजना गरेको ‘कोहलपुर भिजन कम्पोटिसन’मा आफूले कोहलपुर नगरपालिकाको विकासका लागि गर्नुपर्ने कामका बारेमा बुँदागत रूपमा आफ्ना केही विचार प्रस्तुत गरेकोमा अहिले पनि आफ्ना ती विचार सान्दर्भिक रहेकाले त्यसमा केही परिमार्जनसहित सार्वजनिक रूपमा त्यसलाई बहसमा ल्याउने उद्देश्यले पुस्तिकाकै रूपमा प्रकाशित गर्न चाहेको थापाको भनाइ छ ।

‘त्यतिबेलाका मेरा विचार नगरपालिकाको पुँजी भएर रहे । तर ती सार्वजनिक बहसमा आउन पाएनन्,’ थापाले भने, ‘त्यसैले ती विषय तथा त्यसयताका सान्दर्भिक विषयलाई सार्वजनिक बहसमा ल्याउनका लागि पुस्तक नै प्रकाशित गर्न लागेको हुँ ।’

लेखक थापा विगत ५५ वर्षदेखि कोहलपुरलाई नै आफ्नो कर्मथलो बनाउँदै आइरहेका छन् । राजनीतिक, सामाजिक तथा व्यावसायिक रूपमा सक्रिय रहँदै आएका थापाले कोहलपुर गाविस हुँदै नगरपालिकामा तीनपटक वडाध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । करिब ८० वर्ष उमेर पुग्नै लागेका थापाको राजनीतिक जीवनमा अहिले केही सुस्तता आए पनि सामाजिक र व्यावसायिक जीवनमा भने उत्तिकै सक्रियता देखिन्छ । थापाले आफ्ना जीवन संघर्ष र कोहलपुर विकासका लागि विगतमा आफूले गरेका प्रयासहरूलाई लिएर २०७९ सालमा आफ्नो आत्मकथा ‘कर्णबहादुर थापा ः एउटा इमानको कथा’ नामक पुस्तक सार्वजनिक गरिसकेका छन् । यो उनको दोस्रो पुस्तकको रूपमा बजारमा आउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय